काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क तयार गरिएको छ। महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउन खुलामञ्चको पश्चिमतर्फ पाँच स्टलसहितको हेल्थ डेस्क सञ्चालनमा ल्याइएको हो।
महाधिवेशन आयोजक समितिअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. केदारनरसिंह केसीका अनुसार हेल्थ डेस्कबाट सामान्य स्वास्थ्य परीक्षणसँगै आकस्मिक स्वास्थ्य सेवा पनि उपलब्ध गराइनेछ। उनका अनुसार सेवा दुई सिफ्टमा सञ्चालन हुनेछ।
हेल्थ डेस्कमा चिकित्सक, पारामेडिक्स तथा नर्ससहितको टोली रहनेछ। त्यहाँ ब्लड प्रेसर र सुगर जाँच, सिटामोल, जीवनजल तथा घाउचोटमा प्रयोग हुने औषधिसहितका अत्यावश्यक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराइनेछ।
महाधिवेशनका क्रममा कुनै प्रतिनिधिलाई तत्काल अस्पताल लैजानुपर्ने अवस्था आएमा वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र वसुन्धरास्थित बीपी स्मृति अस्पतालमा उपचारको व्यवस्था मिलाइएको छ।
त्यसका लागि महाधिवेशन स्थलमै दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ। रातिको समयमा समेत स्वास्थ्य सेवा आवश्यक पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै ‘अन कल’ ड्युटीको व्यवस्था गरिएको डा. केसीले जानकारी दिए।
महाधिवेशन प्रतिनिधि होटलमा बसेका बेला स्वास्थ्य समस्या देखिएमा समेत स्वास्थ्यकर्मी होटलमै पुगेर स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाइएको उनले बताए।
नेपाल स्वास्थ्यकर्मी संघकी उपमहासचिव शोभा उप्रेती खरेलका अनुसार हेल्थ डेस्कमा आयुर्वेद र एलोपेथिक दुवै प्रकारका स्वास्थ्य सेवा उपलब्ध हुनेछन्। अत्यावश्यक औषधिसमेत हेल्थ डेस्कमै व्यवस्था गरिएको उनले जानकारी दिइन्।
कांग्रेसले १५औँ महाधिवेशनको व्यवस्थापनका लागि स्वास्थ्य समितिसहित विभिन्न विषयगत समिति गठन गरेको छ। स्वास्थ्य समितिको संयोजकमा डा. केदारनरसिंह केसीलाई जिम्मेवारी दिइएको छ।







