काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले दसैँ विशेष सुरक्षा योजना सार्वजनिक गर्दै उपत्यका बाहिर जाने नागरिकका लागि १३ बुँदे सुरक्षा सुझाव जारी गरेको छ ।

प्रहरीले घर छाडेर यात्रा गर्दा चोरी, ठगी तथा अन्य जोखिमबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गरेको हो । शुक्रबार सार्वजनिक गरिएको सुझावमा बहुमूल्य गरगहना, नगद तथा महत्त्वपूर्ण कागजात घरमा नराखी बैंकको लकरमा सुरक्षित राख्न आग्रह गरिएको छ ।

ADVERTISEMENT

घर वा कोठाका ढोका–झ्याल राम्रोसँग बन्द गरी आफू बाहिर जान लागेको जानकारी विश्वसनीय छिमेकी वा नजिकको प्रहरीलाई गराउन पनि प्रहरीले अनुरोध गरेको छ ।

ADVERTISEMENT

प्रहरीले अपरिचित व्यक्तिलाई घर, कोठा वा कार्यालयमा प्रवेश नदिन तथा शङ्कास्पद गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरीको १०० नम्बरमा जानकारी गराउन भनेको छ ।

त्यस्तै, जुवा, तास, लङ्गुरबुर्जा लगायत गैरकानुनी गतिविधिबाट टाढा रहन, मदिरा सेवनपछि झगडा, होहल्ला तथा असामाजिक व्यवहार नगर्न र यात्रामा निस्कँदा नगद, गरगहना तथा अन्य बहुमूल्य सामग्री सुरक्षित व्यवस्थापन गर्न प्रहरीले आग्रह गरेको छ ।

ADVERTISEMENT

कुनै पनि वस्तुमा मूल्यसूचीभन्दा बढी रकम लिएमा वा ठगी भएको शङ्का लागेमा तत्काल प्रहरी वा सम्बन्धित निकायमा जानकारी गराउन पनि सुझाव दिइएको छ । अनलाइन किनमेल गर्दा फेक वेबसाइट, शङ्कास्पद लिंक तथा सामाजिक सञ्जालमा आउने ‘लोभलाग्दा अफर’मा नफस्न प्रहरीले सचेत गराएको छ ।

त्यस्तै, नक्कली टिकट, ठगी तथा अवैध कारोबारबाट सचेत रहन, सवारी चलाउँदा मदिरा सेवन नगर्न र ट्राफिक नियम अनिवार्य पालना गर्न आग्रह गरिएको छ ।

दसैँमा भीडभाड हुने स्थानमा आफ्नो सामानको सुरक्षा गर्न तथा बालबालिका र ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न पनि प्रहरीले अनुरोध गरेको छ । पटका तथा आतसबाजीजस्ता जोखिमपूर्ण सामग्री प्रयोग नगर्नसमेत सुझाव दिइएको छ ।

प्रहरीले ‘हाम्रो सुरक्षा, हाम्रो जिम्मेवारी’ भन्दै दसैँका बेला नागरिकलाई प्रहरीसँग सहकार्य गर्न आग्रह गरेको छ । ‘छिटो कमाइ’, ‘लक्की अफर’, ‘उपहार जितियो’ जस्ता सन्देश ठगीको माध्यम हुन सक्ने भन्दै यस्ता सन्देशप्रति विशेष सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ ।