काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको मतभेदलाई १५औँ महाधिवेशनमार्फत समाधान गर्दै कांग्रेसलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
बिहीबार बिहान सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै देउवाले आजदेखि सुरु हुने वडा अधिवेशनमा उत्साहका साथ सहभागी हुन पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेका हुन्।
देउवा पक्षले १५औँ महाधिवेशनअन्तर्गत बिहीबारदेखि वडा अधिवेशन सुरु गर्दैछ। यसका लागि देउवा पक्षले मङ्सिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका निर्वाचन आयोगलाई जानकारी गराइसकेको छ।
देउवाले कांग्रेसको झण्डै आठ दशक लामो इतिहासमा १५औँ महाधिवेशन महत्त्वपूर्ण रहेको बताएका छन्। लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता र विधिको शासनका लागि कांग्रेसले गरेको त्याग, बलिदान र संघर्षलाई थप मजबुत बनाउन महाधिवेशन महत्त्वपूर्ण हुने उनको भनाइ छ।
उनले देशभरका ६ हजार ७ सय ४३ वडामा विधि र प्रक्रिया पूरा गर्दै हुने अधिवेशनमा हर्षोल्लासका साथ सहभागी भएर सम्पन्न गर्न नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यलाई आग्रह गरेका छन्।
देउवा पक्षले सार्वजनिक गरेको कार्यतालिकाअनुसार वडा अधिवेशनपछि असोज २० गते पालिका, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय, कात्तिक १५ गते जिल्ला र मङ्सिर ४ गते प्रदेश अधिवेशन गर्ने तयारी छ।
कांग्रेसभित्र १५औँ महाधिवेशनको प्रक्रियालाई लिएर फरक–फरक कार्यतालिका अघि बढिरहेका छन्। देउवा पक्षले आफ्नो छुट्टै कार्यतालिकासहित महाधिवेशन प्रक्रिया अघि बढाएको हो।







