काठमाडौं । नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहले आफ्नो छुट्टै १५औँ महाधिवेशनबारे निर्वाचन आयोगलाई औपचारिक जानकारी गराएको छ।
देउवाले बुधबार सभापतिकै हैसियतमा आयोगका प्रमुख निर्वाचन आयुक्तलाई पत्र पठाउँदै महाधिवेशनसम्बन्धी जानकारी गराएका हुन्। पत्रको विषयमा ‘जानकारी तथा अभिलेखीकरण सम्बन्धमा’ उल्लेख गरिएको देउवा समूहका एक नेताले बताएका छन्।
ती नेताका अनुसार १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पदावधि र पार्टी विधानको व्यवस्थाअनुसार १५औँ महाधिवेशन सम्पन्न गर्ने निर्णय भएको जानकारी आयोगलाई दिइएको हो।
पत्रमा कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतबाट पुनरवलोकनका लागि अनुमति पाइएको विषयसमेत उल्लेख गरिएको बताइएको छ।
त्यस्तै, देउवा समूहले आयोजना गर्ने महाधिवेशनबाट निर्वाचित हुने नयाँ केन्द्रीय कार्यसमितिको नामावली महाधिवेशन सम्पन्न भएपछि अभिलेख अद्यावधिकका लागि पुनः निर्वाचन आयोगमा पठाइने जानकारीसमेत पत्रमार्फत गराइएको छ।
देउवा समूहले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने कार्यतालिका बनाएको छ। त्यसपछि विभिन्न तहका अधिवेशन सम्पन्न गर्दै मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने उसको तयारी छ।
यसअघि कांग्रेसको अर्को पक्षले असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। कांग्रेसभित्र दुई छुट्टाछुट्टै महाधिवेशन प्रक्रियाका कारण पार्टीको आधिकारिकता र महाधिवेशनको वैधानिकतासम्बन्धी विवाद पनि कायमै छ।







