काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भइरहेका अधिवेशनबाट ३५ वर्षमुनिका झण्डै ४४ हजार युवा पार्टीका विभिन्न सांगठनिक जिम्मेवारीमा आउने भएका छन् ।
कांग्रेसको विधान मस्यौदा समितिका सदस्यसचिव प्रताप पौडेलका अनुसार एकैपटक यति ठूलो संख्यामा युवालाई सांगठनिक जिम्मेवारी दिने व्यवस्था नेपाली राजनीतिक दलको इतिहासमै पहिलोपटक भएको दाबी गरिएको छ ।
संशोधित विधानअनुसार हरेक वडाबाट ३५ वर्षमुनिका कम्तीमा तीन जना, त्यसमध्ये एक महिला, क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित हुने व्यवस्था गरिएको छ । देशभरका ६ हजार ७४३ वडाबाट न्यूनतम तीन जनाका दरले २० हजार २२९ युवा क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने आधार छ ।
वडामा रहेका क्रियाशील सदस्यको संख्याअनुसार तीनदेखि सात जनासम्म क्षेत्रीय प्रतिनिधि निर्वाचित हुन सक्ने भएकाले औसत पाँच जनाका दरले ३३ हजार ७१५ युवा क्षेत्रीय प्रतिनिधि हुने अनुमान गरिएको छ ।
त्यस्तै, गाउँपालिकाका वडाबाट एक जना र नगरपालिकाका वडाबाट दुई जनाका दरले युवा वडा कार्यसमिति सदस्य निर्वाचित हुने व्यवस्था छ । यसअनुसार गाउँपालिकातर्फ ३ हजार २१५ र नगरपालिकातर्फ ६ हजार १०४ गरी ९ हजार ३१९ युवा वडा कार्यसमितिमा आउनेछन् । क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति सदस्य जोड्दा ४३ हजार ३४ युवाले पार्टीमा सांगठनिक जिम्मेवारी पाउने बताइएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालका अनुसार यी पदमा निर्वाचित हुन कम्तीमा दोब्बर संख्यामा प्रतिस्पर्धी रहेकाले झण्डै एक लाख युवाले उम्मेदवारी दिएको दाबी गरिएको छ ।
यसैगरी, विभिन्न तहका कार्यसमितिमा पनि युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला कार्यसमितिमा निश्चित संख्यामा युवा समेटिने व्यवस्था छ ।
केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्ये प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा एक महिलासहित तीन जना ३५ वर्षमुनिका युवा आउने व्यवस्था छ । यसअनुसार १६५ निर्वाचन क्षेत्रबाट ४९५ युवा महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गरिएको छ ।
संशोधित विधानअनुसार केन्द्रीय कार्यसमितिमा समेत ३५ वर्षमुनिका युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । सात प्रदेशबाट एक महिलासहित दुई जना र खुलातर्फ सात जना गरी २१ युवा केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ ।
कांग्रेसको १५औँ महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने निर्वाचन कार्यतालिका यसअघि नै सार्वजनिक भइसकेको छ ।








