काठमाडौँ, १० असोज । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको एक महिना पूरा भएको छ।
भदौ १० गतेको बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याए पनि प्रभावित क्षेत्र अझै पूर्णरूपमा सामान्य अवस्थामा फर्किन सकेका छैनन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरणअनुसार बाढीमा १ हजार ४५३ जनाको मृत्यु भएको छ भने ५ हजार २८५ जना अझै बेपत्ता छन्। प्रभावित क्षेत्रबाट १३ हजार ७९५ जनाको उद्धार गरिएको छ। उद्धार तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित २० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए।

सरकारको प्रारम्भिक क्षति तथा आवश्यकता मूल्यांकनअनुसार बाढीबाट ४ खर्ब ८ अर्ब रुपैयाँभन्दा बढीको क्षति तथा आर्थिक नोक्सानी भएको अनुमान छ। पुनःस्थापना र पुनर्निर्माणका लागि भने ७ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी आवश्यक पर्ने प्रारम्भिक आकलन गरिएको छ।

बाढीबाट घर, सडक र पुलसँगै जलविद्युत् आयोजना, व्यापारिक संरचना, कृषि भूमि तथा अन्य आर्थिक गतिविधिमा समेत क्षति पुगेको छ। सरकारी प्रारम्भिक मूल्यांकनअनुसार करिब ७ हजार ५७० घरमा क्षति पुगेको छ भने पाँच जिल्लाका करिब ३२ हजार ९६३ मानिस प्रत्यक्ष प्रभावित भएका छन्।

बेत्रावतीदेखि देवीघाटसम्म सडक जोडिँदै
बाढीले बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकका विभिन्न खण्डमा ठूलो क्षति पुर्याएपछि रसुवासँगको स्थल यातायात सम्पर्क लामो समय अवरुद्ध भयो।
नुवाकोटको देवीघाटमा नेपाली सेनाले अस्थायी एक्रो पुल निर्माण गरेपछि विदुर र आसपासका क्षेत्रमा आवतजावत केही सहज भएको छ। बिदुर–बेत्रावती करिब १० किलोमिटर सडकखण्डको अधिकांश भाग सञ्चालनमा ल्याइएको छ भने क्षतिग्रस्त तथा पहिरोले अवरुद्ध केही स्थानमा ट्र्याक खोल्ने काम भइरहेको छ।

बेत्रावतीमा ७२ मिटर लामो बेलीब्रिज जडानको तयारी भइरहेको छ। देवीघाटबाट पारिका गाउँतर्फ जान अझै तुइनको सहारा लिनुपर्ने अवस्था छ।
गल्छी–स्याफ्रुबेँसी सडकलाई दसैँअघि वा असोजभित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको सडक विभागले जनाएको छ। तर स्याफ्रुबेँसी–रसुवागढीको करिब १५ किलोमिटर सडकखण्डमा ठूलो क्षति भएकाले त्यस क्षेत्रमा थप पुनर्निर्माण आवश्यक देखिएको छ।

टेन्टमा अझै विस्थापित परिवार
बाढीले घर बगाएका वा बस्न अयोग्य बनाएका धेरै परिवार अझै पुरानै घरमा फर्किन सकेका छैनन्। कतिपय परिवार क्षतिग्रस्त घरबाट सामान निकालेर सफा गर्न थालेका छन् भने घर पूर्णरूपमा बगाएका परिवार अस्थायी टेन्ट तथा आश्रयस्थलमा छन्।

निरन्तरको वर्षाले टेन्टमा बस्ने परिवारको समस्या थप बढाएको छ। पानी टेन्टभित्र पस्दा खाद्यान्न, लत्ताकपडा र अन्य सामग्री जोगाउनसमेत कठिन भएको छ।

नुवाकोटका चार स्थानीय तहमा मात्रै १ हजार ९५५ परिवारको आवासमा क्षति पुगेको प्रारम्भिक तथ्यांक छ। विदुर नगरपालिकामा मात्रै १ हजार ६७८ परिवारको आवास प्रभावित भएको जनाइएको छ।

सरकारले प्रभावितलाई लामो समय होल्डिङ सेन्टर वा टेन्टमा राख्नुभन्दा भाडाको कोठामा स्थानान्तरण गर्ने नीति अघि सारेको छ। संघीय सरकारले स्थायी आवास निर्माण नभएसम्म आवास भाडा तथा आवश्यक खर्चका लागि चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ र चार जनाभन्दा बढी भए थप प्रत्येक सदस्यका लागि २ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको छ।

रसुवा अझै सडकको पर्खाइमा
बाढीले सडक सञ्जालमा ठूलो क्षति पुर्याएपछि रसुवाको उत्तरी क्षेत्रमा आवतजावत अझै चुनौतीपूर्ण छ। विशेषगरी स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमा ठूलो क्षति पुगेको छ।

सडक पुनःनिर्माण तथा वैकल्पिक पहुँचका लागि सर्वेक्षणको काम अघि बढाइएको छ। सडकमार्गबाट पुग्न कठिन बनेका कतिपय क्षेत्रमा राहत, स्वास्थ्य सेवा तथा दैनिक आवश्यक सामग्री पुर्याउन लामो समय हवाई सेवामा निर्भर हुनुपरेको थियो।

एक महिनाको अवधिमा केही सडक तथा पुल अस्थायी रूपमा जोडिए पनि हजारौँ परिवारको स्थायी पुनःस्थापना, क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माण र बाढीले बगाएका बस्तीको भविष्य निर्धारण गर्ने काम अझै बाँकी छ।














