काठमाडौँ । गृह मन्त्रालयअन्तर्गतको विपद् प्रतिकार्य समन्वय तथा संस्थागत सुदृढीकरण शाखा ले आज बिहान १०ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै देशका विभिन्न भागमा १४ वटा राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएको जनाएको छ ।

सार्वजनिक विवरणअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशका सडकहरू बाढी, पहिरो, लेदो तथा सडक भासिएका कारण पूर्ण रूपमा बन्द भएका छन् । सबैभन्दा धेरै बागमती प्रदेशमा १० वटा सडकखण्ड अवरुद्ध रहेका छन्।

ADVERTISEMENT

जसमध्ये २०८३ भदौ १० गतेदेखि नै बाढीका कारण रसुवाको बारा घुम्तीदेखि रसुवागढीसम्मको पासाङल्हामु राजमार्ग, त्रिशुली–बेत्रावती हुँदै रसुवागढीसम्मको सडक, नुवाकोटको त्रिशूलीबाट बेत्रावतीसम्मको मैलुङ–स्याफ्रुबेशी सडक र धादिङको गजुरी गाउँपालिका–२ फुर्केखोलामा कालुपाण्डे राजमार्ग अवरुद्ध छन् ।

ADVERTISEMENT

विवरणअनुसार पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाटरोराङ–७ कृष्णभिर र १० तिङराङखानीमा पहिरो खस्दा तथा चितवनको इच्छाकामना–४ धारापानीमा सडक भासिँदा आवागमन बन्द भएको छ ।

कान्तिलोकपथअन्तर्गत ललितपुरको गोदावरी–६ बिर्खेंधारा र बागमती–३ को पाङदुरडोल र टाकुर्चेमा पहिरोले तथा मकवानपुरको भीमफेदी–८ खहरे खोल्सामा लेदो आएर सडक अवरुद्ध भएको छ । साथै, बी.पी. राजमार्ग पनि काभ्रेको रोशी–७ चारसयवेशी र ८ गिम्दीवेशीमा पहिरोका कारण बन्द रहेको छ ।

ADVERTISEMENT

यस्तै, कोशी प्रदेशमा असोज ९ गतेका दिन दुईवटा सडकखण्ड अवरुद्ध भएका छन् । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ भँडारे खोलामा आएको बाढीले सिद्धिचरण लोकमार्ग बन्द भएको छ भने सुनसरीको बराहक्षेत्र नगरपालिका–१ गुप्तबराहमा खसेको पहिरोका कारण चतरा–बराहक्षेत्र सडक अवरुद्ध हुन पुगेको छ ।

लुम्बिनी प्रदेशमा पनि पहिरोका कारण दुईवटा सडक अवरुद्ध भएका छन् । मन्त्रालयको विवरणअनुसार गुल्मीको कालिगण्डकी गाउँपालिका–२ रावसे र ४ पातिखोलामा पहिरो खस्दा कालिगण्डकी करिडोर बन्द भएको छ । त्यसैगरी, रोल्पाको माडी गाउँपालिका–२ ब्याङखोलामा पहिरो गएका कारण घोराही–थवाङ सहिदमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

11