काठमाडौँ —कृष्णभीरमा सडक भासिएपछि काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख सडक सञ्जाल प्रभावित भएको छ।पृथ्वी राजमार्ग अवरुद्ध भएपछि सरकारले सवारीसाधनलाई कान्ति लोकपथ, बाइरोड तथा फर्पिङ–कुलेखानी क्षेत्रका वैकल्पिक सडक हुँदै सञ्चालन गर्ने व्यवस्था गरेको छ।
मुख्य राजमार्ग बन्द भएपछि वैकल्पिक सडकमा एकैपटक ठूलो संख्यामा सवारीसाधन प्रवेश गर्दा कान्ति लोकपथ र त्रिभुवन राजपथमा समेत सवारी चाप बढेको छ।विशेषगरी काठमाडौं उपत्यकाबाट हेटौंडा, चितवन तथा पश्चिमतर्फ जाने सवारीले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्दा यात्राको दूरी र समय दुवै बढेको छ।
साँघुरा र घुम्ती बढी भएका वैकल्पिक सडकमा सवारीको चाप बढ्दा ठाउँ–ठाउँमा जाम हुने तथा मालवाहक सवारी सञ्चालनमा कठिनाइ हुने अवस्था देखिएको छ।यसको असर यात्रु आवागमनमा मात्रै सीमित छैन। खाद्यान्न, पेट्रोलियम पदार्थ, निर्माण सामग्री तथा अन्य दैनिक उपभोग्य वस्तुको ढुवानीमा समेत प्रभाव पर्ने जोखिम बढेको छ।
पृथ्वी राजमार्ग काठमाडौंलाई पश्चिम नेपालसँग जोड्ने प्रमुख मार्ग भएकाले यसको अवरोधले राजधानीसँग जोडिएका अन्य सडकमा समेत अतिरिक्त भार परेको छ।यता कृष्णभीरको सडक पुनः सञ्चालनका लागि सडक विभागले क्षतिको प्राविधिक अध्ययन तथा मर्मतको प्रक्रिया अघि बढाइरहेको छ।तर, सडक कहिले पूर्ण रूपमा सञ्चालनमा आउँछ भन्ने विषय क्षतिको अवस्था र पुनःनिर्माणमा लाग्ने समयमै निर्भर हुनेछ।यसबीच, बाइरोड तथा फर्पिङ–कुलेखानी क्षेत्रका वैकल्पिक प्रयोग गर्ने यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र ट्राफिक प्रहरीले आग्रह गरेको छ ।





