काठमाडौं । लगातारको वर्षाका कारण नारायणी नदीसहित देशका विभिन्न नदीमा पानीको सतह बढेको छ। बाढी पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार नारायणी नदीको देवघाटस्थित जलसतह खतराको तह ९ मिटरभन्दा माथि पुगेर करिब ११ मिटर पुगेको छ। जलसतह अझै बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म अधिकतम करिब १३ मिटर पुग्न सक्ने अनुमान गरिएको छ। आज साँझसम्म नदीको जलसतह खतराको तहभन्दा माथि रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।
नारायणीका प्रमुख सहायक नदीमध्ये कालीगण्डकीमा बहाव खतराको तहभन्दा निकै माथि पुगेको छ। यस्तै सेती, मादी, मस्र्याङ्दी, दरौँदी र चेपेमा बहाव सतर्कता तहभन्दा माथि छ। बुढीगण्डकी र त्रिशूलीमा पनि बहाव सतर्कता तह नजिक पुगेको छ।
चितवन र नवलपरासीका नारायणी आसपासका होचा तथा डुबान सम्भावित क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित र अग्लो स्थानमा जान आग्रह गरिएको छ। नदी तथा सहायक नदीका तटीय क्षेत्रमा अनावश्यक आवतजावत नगर्न पनि भनिएको छ।
५०० भन्दा बढी घर डुबानमा
लगातारको वर्षाका कारण सप्तरीका हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका विभिन्न बस्ती डुबानमा परेका छन्। करिब ५०० घर डुबानमा पर्दा दुई हजारभन्दा बढी परिवार प्रभावित भएको जनाइएको छ।
यस्तै, नवलपरासी पूर्वको गैँडाकोट–२ स्थित बोटेटोल र कावासोतीको अमलटारी क्षेत्र पनि डुबानमा परेका छन्। बोटेटोलका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ।
मस्र्याङ्दी नदी थुनिएपछि मनाङको नासों गाउँपालिका–१ स्थित तालगाउँ फेरि डुबानमा परेको छ। केही घर डुबानमा परे पनि मानवीय क्षतिको खबर नआएको गाउँपालिकाले जनाएको छ। बाढी र पहिरोका कारण गाउँबाट बाहिरिने उत्तर र दक्षिण दुवैतर्फका सडक अवरुद्ध भएका छन्।
यस्तै, स्याङ्जा, गुल्मी र पर्वतको संगमस्थल सेतीवेणी पनि कालीगण्डकी नदीको बहाव बढेपछि डुबानमा परेको छ।
मुग्लिन–नारायणगढसहित मुख्य सडक अवरुद्ध
वर्षाका कारण विभिन्न राजमार्ग तथा सडकखण्डमा पहिरो र बाढीले यातायात प्रभावित भएको छ।
मुग्लिन–नारायणगढ सडकखण्डमा नाम्सी खोला पुलमाथि लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। पहिरो पन्छाउन उपकरण परिचालन गरिएको र करिब दुई घण्टा लाग्ने अनुमान गरिएको छ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिर र तिङग्राङखानीमा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको छ। कृष्णभिरमा पहिरो खस्ने क्रम जारी रहेकाले तत्काल सवारी सञ्चालन गर्न सक्ने अवस्था नरहेको जनाइएको छ।
यस्तै, ललितपुरको पाँचधुरे र टाँकुरेमा पहिरो खसेपछि कान्तिलोकपथ अवरुद्ध भएको छ। टिकाभैरवमा रुख ढलेपछि पनि सडक केही समय अवरुद्ध भएको छ।
तमोर करिडोर, मध्यपहाडी लोकमार्ग, बीपी राजमार्ग, घोराही–थवाङ सहिदमार्ग, गोरुसिंगे–सन्धिखर्क सडक, मदनभण्डारी राजमार्ग, कालिगण्डकी करिडोर, तुल्सीपुर–घोराही सडक, सिद्धार्थ राजमार्ग, कर्णाली राजमार्ग, राप्ती राजमार्ग, कर्णाली करिडोर र नाग्म–गमगढी सडकका विभिन्न खण्ड पनि बाढी तथा पहिरोका कारण प्रभावित भएका छन्।
लमजुङ, कास्की, मुस्ताङ, पर्वत, म्याग्दी, नवलपरासी पूर्व, बागलुङ र तनहुँका विभिन्न सडकखण्डमा पनि बाढी तथा पहिरोको जोखिम उच्च रहेको जनाइएको छ।
पश्चिम नेपालमा वर्षा जारी रहने
बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली कमजोर हुँदै गएपछि कोशी, मधेश र बागमती प्रदेशमा वर्षाको प्रभाव क्रमशः घट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौं उपत्यकासहित बागमती क्षेत्रमा आज अपराह्नदेखि मौसममा उल्लेख्य सुधार आउने सम्भावना छ।तर गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज पनि वर्षा जारी रहने भए पनि अघिल्ला दिनको तुलनामा वर्षाको क्षेत्र र मात्रा कम हुने पूर्वानुमान छ।
पछिल्लो १२ घण्टामा बागलुङको दरवाङ, स्याङ्जाको पञ्चमूल शिरुवारी, पञ्चासे, चापाकोट, अत्रौलीटार, पाल्पाको कुमालगाउँ, नवलपुरको देउराली त्रिवेणी, बर्दघाट, दम्कौली र भरतपुरलगायत क्षेत्रमा १२० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ।









