काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्न सुरु गरेका छन् ।
न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताह अन्तर्गत आजको दिवासत्रमा उनले सम्बोधन गरेका हुन् ।
त्यसअघि प्रधानमन्त्री शाहले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेट गरेका थिए ।
महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताएका थिए ।
उनले युवा नेपाली प्रतिनिधिमण्डलको प्रशंसा पनि गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आफू सन् १९७८ मा पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै महासचिव गुटेरेसले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त पनि गरे ।
प्रधानमन्त्री शाहले नेपालमा आएको बाढी र जलवायु न्यायको विषय उठाउने बताइएको छ ।








