काठमाडौं । भारी वर्षासँगै बाढी, पहिरो र डुबानको जोखिम बढेपछि गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई १० बुँदे परिपत्र जारी गर्दै विपद् पूर्वतयारी तथा प्रतिकार्यमा जुट्न निर्देशन दिएको छ।

मन्त्रालयले जिल्ला सुरक्षा समितिले पहिचान गरेका जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन तथा सुरक्षाकर्मीलाई जुनसुकै बेला परिचालन गर्न सक्ने गरी ‘स्ट्यान्डबाइ’ अवस्थामा राख्न निर्देशन दिएको छ। जिल्लास्थित अस्पताल, नर्सिङ होम, स्वास्थ्य केन्द्र तथा एम्बुलेन्सलाई समेत तयारी अवस्थामा राख्न भनिएको छ।

ADVERTISEMENT

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३ र जिल्लागत कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ।

ADVERTISEMENT

त्यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागबाट जारी यात्रा सुझाव तथा मनसुन बुलेटिनबारे सर्वसाधारणलाई समयमै जानकारी गराउन जिल्ला प्रशासनलाई भनिएको छ।

सम्भावित मानवीय तथा भौतिक क्षति कम गर्न जोखिम अवधिभर अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन नागरिकलाई आग्रह गर्न पनि प्रशासनलाई निर्देशन दिइएको छ।

ADVERTISEMENT

जोखिमयुक्त अवधिमा पर्यटक तथा सर्वसाधारणलाई ट्रेकिङमा जान रोक लगाउन र ट्रेकिङमा गइसकेकालाई सुरक्षित स्थानमा फर्काउन सहजीकरण गर्नसमेत भनिएको छ।

भारी वर्षाको पूर्वानुमान गरिएका क्षेत्र तथा खोला किनारका बस्तीमा माइकिङमार्फत तत्काल सूचना प्रवाह गर्ने, नदी तटीय क्षेत्रमा टोली परिचालन गरी बासिन्दालाई सतर्क गराउने र जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाउन गृह मन्त्रालयले निर्देशन दिएको छ।

विपद्का समयमा महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा बालबालिका बढी प्रभावित हुनसक्ने भएकाले उनीहरूलाई सुरक्षित स्थानमा राख्न सम्बन्धित निकाय तथा संघसंस्थासँग समन्वय गर्न पनि जिल्ला प्रशासन कार्यालयहरूलाई भनिएको छ।