काठमाडौं । सरकारले तिहार पर्वका अवसरमा खेलिने देउसी–भैलो कार्यक्रम २४ सै घण्टा सञ्चालन गर्न सकिने स्पष्ट पारेको छ । गृह मन्त्रालयले देउसी–भैलो खेल्ने परम्परालाई निरन्तरता दिन तथा सांस्कृतिक उत्सवमा कुनै अवरोध नहोस् भन्ने उद्देश्यले २४ सै घण्टा कार्यक्रम सञ्चालन गर्न दिन जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको हो ।

ADVERTISEMENT

गृह मन्त्रालयले आज सूचना जारी गर्दै तिहारको सांस्कृतिक तथा धार्मिक महत्त्वलाई ध्यानमा राखी परम्परागत रूपमा खेलिँदै आएको देउसी–भैलो कार्यक्रम सद्भावपूर्ण वातावरणमा सञ्चालन गर्न अनुरोध गरेको छ । मन्त्रालयले देउसी–भैलोका लागि निश्चित समय तोकेर रोकटोक नगर्न र २४ सै घण्टा कार्यक्रम सञ्चालन गर्न दिन जिल्ला प्रशासन कार्यालयहरूलाई सूचित गरेको जनाएको छ ।

ADVERTISEMENT

तिहार नेपालीहरूको प्रमुख सांस्कृतिक पर्व हो । यस पर्वमा घरघरमा दीप प्रज्वलन गर्ने, लक्ष्मीपूजा गर्ने, भाइटीका लगाउने तथा देउसी–भैलो खेलेर आपसी सद्भाव र खुसी साटासाट गर्ने परम्परा रहिआएको छ । विशेषगरी काग तिहारदेखि भाइटीकासम्म देउसी–भैलो खेल्ने चलन छ । समूह बनाएर घर, टोल तथा समुदायमा पुग्ने र सांस्कृतिक गीत, नृत्य तथा शुभकामनासहित मनोरञ्जन गर्ने गरिन्छ ।

देउसी–भैलो नेपाली मौलिक संस्कृति र लोकपरम्परासँग जोडिएको महत्त्वपूर्ण पक्ष हो । यसले विभिन्न उमेर समूह, समुदाय तथा पुस्ताबीच आपसी सम्बन्ध र सामाजिक एकता बलियो बनाउन सहयोग पुर्‍याउँदै आएको छ । पछिल्लो समय बालबालिका, युवा, महिला समूह, विभिन्न संघसंस्था तथा सांस्कृतिक टोलीहरूले समेत देउसी–भैलो कार्यक्रमलाई उत्साहका साथ निरन्तरता दिँदै आएका छन् ।

मन्त्रालयले २४ सै घण्टा देउसी–भैलो खेल्न सकिने व्यवस्था गरे पनि कार्यक्रम सञ्चालन गर्दा सामाजिक सद्भाव र शान्ति सुरक्षालाई ध्यान दिनुपर्ने सन्देश दिएको छ । देउसी–भैलोका नाममा कसैलाई अनावश्यक दुःख दिने, जबर्जस्ती चन्दा माग्ने, झैझगडा गर्ने वा सार्वजनिक शान्तिमा खलल पुग्ने गतिविधि नगर्नु सबैको दायित्व हो ।

त्यसैगरी, रातिको समयमा कार्यक्रम गर्दा छिमेकी तथा ज्येष्ठ नागरिक, बालबालिका र बिरामीलाई असर नपर्ने गरी ध्वनि तथा गतिविधि व्यवस्थापन गर्नुपर्ने देखिन्छ । सांस्कृतिक उत्सवलाई मर्यादित, व्यवस्थित र शान्तिपूर्ण बनाउन आयोजक तथा सहभागी सबैले जिम्मेवार भूमिका निर्वाह गर्न आवश्यक छ ।

सरकारको यस स्पष्टतासँगै तिहारका अवसरमा देउसी–भैलो खेल्न चाहने समूहहरूलाई थप सहज हुने अपेक्षा गरिएको छ । यसले नेपाली मौलिक संस्कृति, परम्परा र सामूहिक उत्सवलाई निरन्तरता दिन सहयोग पुग्ने विश्वास गरिएको छ ।