काठमाडौं । गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानूनी सुधारलाई प्राथमिकता राखेका गृहमन्त्री रमेश लेखकले फैसला कार्यान्वयन पनि आक्रमक रुपमा अघि बढाएका छन् ।
मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद र जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न प्रहरीलाई सक्रिय बनाएकै कारण लेखकको कार्यकालको पहिलो वर्ष (गत आर्थिक बर्ष २०८१/०८२) मा हालसम्मकै सबैभन्दा बढी फरार अभियुक्त पक्राउ परेको तथ्यांकले देखाएको छ ।
अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा देशभरबाट कुल १४ हजार ७६४ जना फरार अभियुक्त प्रहरीले पक्राउ गरेको थियो । अघिल्लो आर्थिक वर्षको भन्दा गत आवमा गृह प्रशासनको सक्रियताका कारण २४ हजार ३८२ जना फरार अभियुक्त पक्राउ गरिएको छ । जुन अघिल्लो आवको तुलनामा ६५.०८ प्रतिशतले बढी हो ।
त्यसैगरी प्रहरीले आव ०७९/८० मा ११ हजार ९०२ जना फरार अभियुक्त पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । गत आर्थिक वर्षमा अपराध अनुसन्धान र फैसला कार्यान्वयनमा गृह मन्त्रालय र मातहतको निकाय सक्रिय रहँदा परिणाम उत्कृष्ट आएको हो ।
गृहमन्त्री लेखकको कार्यकालको पहिलो वर्ष (गत आव ०८१/८२) मा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सबैभन्दा बढी ६ हजार ३७५ जना फरार अभियुक्त पक्राउ गरेको देखिएको छ ।
कोशी प्रदेश प्रहरीले ३ हजार ४ सय ८९, मधेश प्रहरीले ५ हजार ७१२, बाग्मती प्रदेश प्रहरी १ हजार ७ सय ३, गण्डकी प्रदेश प्रहरी १ हजार ४ सय ९१, लुम्बिनीले ३ हजार ९ सय ९६, कर्णाली प्रदेशले ५ सय ५६, सुदूरपश्चिम प्रदेशले ९ सय २८ र केन्द्रीय अनुसन्धान ब्यूरोले १३२ जना फरार अभियुक्त पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गत आवमा एक अर्व ५० करोडभन्दा बढी जरिवाना रकमसमेत असुलउपर गरेको छ ।

जिल्लास्तरको फैसला कार्यान्वयनको विवरण हेर्दा काठमाडौं प्रहरी परिसर अग्रस्थानमा छ । जनघनत्व बढी भएको राजधानी काठमाडौंमा हरेक दिनजसो ठुला र साना अप्रेसन चलाइरहेका काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक विश्व अधिकारीले काठमाडौंबाट मात्रै ५ हजार ५ सय ८५ जना फरार अभियुक्तलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भएका छन् । उपलिब्ध शान्ति सुरक्षामा भने सीमित छैन । जनशक्ति अभाव र सीमित स्रोतसाधनको अधिकतम प्रयोग गरी अधिकारीले फैसला कार्यान्वयनमा पनि जवरजस्त उपलब्धी हासिल गरेका छन् ।
काठमाडौं प्रहरी परिसरले गत आर्थिक वर्षमा देशभरमै सबैभन्दा बढी फरार अभियुक्त पक्राउ गर्न सफल भएको रेकर्ड छ । एक वर्षको अवधिमा परिसरले काठमाडौंबाट मात्रै ५ हजार ५ सय ८५ जना फरार अभियुक्तलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भएको प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले जानकारी दिए ।
‘काठमाडौं परिसरले आव ०८०/८१ मा १ हजार ६७ जना फरार अभियुक्त पक्राउ गरेको थियो,’ उनले भने, ‘अहिले त्यो संख्या वृद्धि गरेर ५ हजार ५ सय ८५ पु¥याउन काठमाडौं प्रहरी परिसर सफल भएको छ ।’ उनले आफूहरु फैसला कार्यान्वयनलाई परिसरले विशेष रणनीति बनाएर लागू गरिरहेको जानकारी दिए । नेपाल प्रहरी संगठनको बार्षिक कार्यसम्पादन सम्झौता अनुसार दण्डहीनताको अन्त्यका लागि फैसला कार्यन्वयनलाई उच्च प्राथमिकतामा समेत राखिएको छ ।
गृहमन्त्री लेखकको कार्यकालको पहिलो वर्ष सहकारीसम्वन्धी ८२ वटा मुद्दा दर्ता भएका छन् । सहकारी प्रकरणमा विभिन्न राजनीतिक दलका उच्च तहका नेताहरुसमेत कानूनको दायरामा आएका छन् । मुलुकभरबाट सहकारी मुद्दाका पुरुष र महिला गरी ४५ जना पक्राउ परेका छन् ।








