काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहकारी ठगीमा हाल भैरहवा कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई कारागार सार्ने प्रक्रिया अघि बढिरहेको बताएका छन् ।
प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार आयोगको बुधबारको बैठकमा उनले कुन कारागारमा सार्ने भन्नेबारेमा सुरक्षालाई मध्यनजर गरेर अघि बढाइरहेको स्पष्ट पारे ।
कैदीबन्दीलाई एक कारागारबाट अर्को कारागारमा सार्ने काम सहमतिअनुसार सरकारले गर्ने भएको उनको भनाइ छ । गृहमन्त्री लेखकले लामिछानेलाई कैदीबन्दीहरुले पाउने सुविधानबाट वञ्चित नगरिएको प्रस्टीकरण दिएका छन् । उनले भैरहवा कारागारमा लामिछानेलाई मानवोचित र सबै कैदीहरुले बन्दीहरुले पाइरहेको सुविधा दिइएको स्पष्ट पारे ।
लामिछानेलाई छुट्टै कोठामा राखिएको र कारागारको प्रशासनले केही समस्या छ कि भनेर सोध्ने गरेको पनि उनले बताए । विशेष सुविधा दिइएको भन्ने कुरा नभएको उनको भनाइ थियो ।
रविले मानव अधिकार आयोगको टोलीसमक्ष आफूलाई न्यूनतम मानवीय सुविधासमेत नभएको गुनासो गरेका थिए । साथै, आफूले कारागार सार्न पत्र लेखे पनि अहिलेसम्म गृहमन्त्री लेखककै दबाबमा रोकिएको आरोप लगाएका थिए ।
बुधबार मात्रै रवि पत्नी निकिता पौडेलले रविलाई किन कारागार नसारिएको र गृहमन्त्रीले किन अदालतको कामकारबाही प्रभावित पारेको भनेर प्रश्न सोधेकी थिइन् ।











