काठमाडौँ। नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकको तेस्रो दिन अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ।
बैठकले राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । अध्यक्ष ओलीले बैठकको पहिलो दिन ७८ पेजको राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।
ललितपुरको भनिमण्डलस्थित रामबाग भवनमा जारी बैठकमा अध्यक्ष ओलीले प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएका विषय तथा राखेका सुझावबारे स्पष्ट पारेका थिए। त्यसपछि बैठकले राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो।
बैठकमा पार्टी सचिवालयका सदस्य, पदाधिकारी तथा केन्द्रीय कमिटीका सदस्यहरूले समसामयिक राजनीतिक परिस्थिति, पार्टी सङ्गठन, आगामी कार्यदिशा तथा प्रतिवेदनमा समेटिएका विभिन्न विषयमा आ–आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए।
बैठकमा पदाधिकारीतर्फ रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुजी पन्त, लेखराज भट्ट, योगेश भट्टराई, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, शेरधन राई, डा. राजन भट्टराई, हिक्मत कार्की र महेश बस्नेतलगायतले धारणा राख्नुभएको थियो।
त्यसैगरी आयोगका अध्यक्षहरू भरत पहारी र डा. पुष्प कँडेलसहित ठुलो सङ्ख्यामा केन्द्रीय सदस्यहरूले बैठकमा आफ्ना धारणा तथा सुझाव प्रस्तुत गरेका थिए।
बैठकमा परशुराम बस्नेत, पार्वत गुरुङ, पार्वती रावल, पार्वती बिसुङ्खे, प्रेम तामाङ, प्रेम पराजुली, प्रतीक्षा तिवारी, प्रदीप कटुवाल, प्रदीप ज्ञवाली, प्रभा बराल, प्रभु हजारा, बालिका गिरी, बिना श्रेष्ठ, विन्दु महर्जन, रमेश बडाल, भगवती चौधरी, भगवती न्यौपाने, भागिरथी सिंह, भारती पाठकलगायतका केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए।
बैठकमा विभिन्न जिल्लाका तथा पार्टीका विभिन्न जिम्मेवारीमा रहेका केन्द्रीय सदस्यहरूले सङ्गठन सुदृढीकरण, राजनीतिक कार्यदिशा र समसामयिक विषयमा सुझाव प्रस्तुत गरेका थिए।
एमाले केन्द्रीय कमिटीको बैठक भोलि दिउँसो १२ः३० बजे पुनः भनिमण्डलस्थित रामबाग भवनमा बस्नेछ। त्यसअघि पार्टी केन्द्रीय सचिवालयको बैठक बिहान १० बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने एमालेले जनाएको छ।







