काठमाडौं — गायिका एलिना चौहानले ‘रमणी’मार्फत व्यवसायमा हात हालेको दुई महिना मात्रै भएको छ । तर, व्यवसाय सुरु गरेको तीन दिनमै पसल हटाउन घरभेटीले आग्रह गरेपछि आफू समस्यामा परेको उनले बताएकी छन् ।
मंगलबार फेसबुकमा भिडियो सार्वजनिक गर्दै एलिनाले घरभेटी परिवर्तन भएपछि घर कसैलाई भाडामा नदिने भन्दै कोठा खाली गर्न भनिएको बताएकी हुन् ।
‘रमणी’ सुरु गरेको दुई–तीन दिनमै पसल हटाउन भनिएको उनले बताइन् । घर अर्कैले लिएपछि आफूहरूलाई अब कसैलाई पनि भाडामा नदिने भन्दै खाली गरिदिन भनिएको उनको भनाइ छ ।
“त्यतिखेर भगवानले मेरो खुशी हेर्न सक्नुहुन्न जस्तो फिल भयो । तर, मैले ब्याक हुनुहुन्न सोचेर मैले समय मागेँ र उहाँहरूले पनि समय दिनुभयो,” उनले भनेकी छन् ।
पसल हटाउनुपर्ने अवस्था आए पनि आफूले व्यवसायबाट पछि नहट्ने निर्णय गरेको एलिनाले बताएकी छन् । अहिले नयाँ ठाउँमा ‘रमणी’ निर्माण भइरहेको उनले जानकारी दिइन् ।
हाल गीत गायनमा सक्रिय रहे पनि आफ्नो मुख्य सपना ‘रमणी’ व्यवसायलाई अगाडि बढाउने रहेको एलिनाले बताएकी छन् । दर्शक तथा ग्राहकको माया र साथले ‘रमणी’ नढल्ने विश्वाससमेत उनले व्यक्त गरेकी छन् ।
एलिनाका अनुसार मध्य-बानेश्वरस्थित रत्नराज्य स्कुलअगाडि नयाँ ठाउँमा ‘रमणी’ सञ्चालनको तयारी भइरहेको छ । अबको ९–१० दिनमा नयाँ भवनबाट सेवा सुरु गर्ने उनको भनाइ छ ।
नयाँ ठाउँबाट व्यवसाय सुरु गर्दा पनि सबैको उत्तिकै साथ र सहयोग पाउने विश्वास एलिनाले व्यक्त गरेकी छन् ।







