काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार (असोज ६) झिनो सुधार देखिएको छ ।
यस दिन नेप्से सूचक ७.०६ अंक अर्थात् ०.२६ प्रतिशतले बढेर २६ सय ५४.२८ विन्दुमा बन्द भएको छ । सरकारले घटाएको पुँजीगत लाभकर सोमबार (असोज ५) राजपत्रमा प्रकाशनसँगै कार्यान्वयनमा आएपछि लगानीकर्तामा उत्साह बढेर कारोबार वृद्धि हुने अपेक्षा गरिए पनि त्यस्तो खासै देखिएन ।
कुल ३५६ कम्पनीको दुई करोड १५ लाख ८९ हजार ७६१ कित्ता सेयर किनबेच भयो । कुल कारोबार रकम सात अर्ब पाँच करोड ३९ लाख ९८ हजार ६२४ रुपैयाँ पुगेको छ । कुल ७० हजार ६९१ कारोबारमार्फत उक्त सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
१ ३८ कम्पनीको सेयर मूल्य उकालो लाग्यो । १३० कम्पनीको सेयर मूल्य ओरालो लाग्यो । ११ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
सबैभन्दा बढी कारोबार हुने कम्पनीमा हाथवे इन्भेस्टमेन्ट, हिमालयन डिस्टिलरी, घलेम्दी हाइड्रोपावर, लिबर्टी एनर्जी, कुमारी बैंक छन् । सबैभन्दा बढी गुमाउने कम्पनीमा स्नो रिभर लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक र बोटलर्स नेपाल छन् ।
साताको पहिलो कारोबार दिन सोमबार ब्रोकर कम्पनीहरूको डेडा हबमा प्राविधिक समस्या देखिएको थियो । त्यसपछि कारोबार स्थगन गरिएको थियो ।






