काठमाडौं । भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विनाशकारी बाढी तथा हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव अध्ययन गर्न प्रतिनिधिसभाले १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकले समितिको गठनसम्बन्धी प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो। समितिले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीको अध्ययन गर्नुका साथै राहत, उद्धार, पुनर्स्थापना तथा भविष्यमा यस्ता विपद् न्यूनीकरणका लागि आवश्यक नीतिगत सुझाव दिनेछ।
समितिको कार्यअवधि तीन महिना तोकिएको छ भने आवश्यकता परे म्याद थप गर्न सकिने व्यवस्था गरिएको छ। समितिको पहिलो बैठकबाट संयोजक चयन गरिनेछ।
समितिमा अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गंगादेवी श्रेष्ठ, गणेश पराजुली, धनन्जय रेग्मी, ध्रुबराज राई, निशा डाँगी, पुष्पाराज कँडेल, मोहन आचार्य, मिङमाग्याबु शेर्पा, रमेश कुमार मल्ल, रविन्दै पटेल, सरस्वती लामा, सुजाता तामाङ र सीता थपलिया सदस्य रहेका छन्।
भोटेकोशी विपद्लाई जलवायु परिवर्तनसँग जोडेर अध्ययन गर्ने तथा विपद्पूर्व तयारी र दीर्घकालीन नीतिगत सुधारमा सुझाव दिने विषय समितिको मुख्य कार्यक्षेत्रमा रहनेछ। समितिले अध्ययनपछि प्रतिवेदन प्रतिनिधिसभामा पेस गर्नेछ।
यसअघि विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन र सरकारका कामकारबाहीमा सहजीकरण तथा अनुगमन गर्न संसद्बाहिर उच्चस्तरीय सर्वदलीय राजनीतिक संयन्त्र समेत गठन भइसकेको छ। यससँगै विपद्पछि काम गर्ने दुई छुट्टाछुट्टै राजनीतिक तथा संसदीय संयन्त्र बनेका छन्।






