काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आगामी महाधिवेशन निर्धारित मितिमै हुने दाबी गरेका छन्। उनले असोज ४ गतेदेखि अधिवेशन प्रक्रिया सुरु हुने र असोज १६ गतेदेखि केन्द्रीय महाधिवेशन प्रक्रिया अघि बढ्ने बताएका छन्।

शुक्रबार जीपी कोइराला फाउन्डेसनको वार्षिक साधारणसभा तथा नेतृत्व हस्तान्तरण कार्यक्रममा बोल्दै थापाले संविधान, पार्टी विधान र अदालतको फैसलाले आफूहरूलाई निर्धारित समयमै महाधिवेशन गर्न बाँधेको बताए। महाधिवेशनको तिथि–मिति एक दिन वा एक घण्टासमेत तलमाथि नहुने उनको दाबी छ।

ADVERTISEMENT

कार्यक्रममा थापाले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आर्थिक नीति, निर्णय र प्राथमिकतामाथि अध्ययन तथा अनुसन्धान गर्न फाउन्डेसनलाई आग्रह गरे। उनले २०४८ देखि २०५१ सालसम्मको अवधिलाई नेपालको आर्थिक विकासका दृष्टिले महत्वपूर्ण समयका रूपमा उल्लेख गरे।

ADVERTISEMENT

निजी क्षेत्रलाई विद्युत्, हवाई सेवा, टेलिफोन, मेडिकल कलेज तथा बैंकिङ क्षेत्रमा प्रवेश गराउने निर्णय र मूल्य अभिवृद्धि करलगायत कर प्रणालीमा भएका सुधारले अर्थतन्त्रलाई नयाँ दिशातर्फ लैजान आधार तयार गरेको थापाको भनाइ छ।

आर्थिक उदारीकरणका कारण कांग्रेसले राजनीतिक आलोचना खेप्नुपरे पनि गिरिजाप्रसादले तत्कालीन राजनीतिक लाभभन्दा मुलुकको आर्थिक भविष्यलाई प्राथमिकता दिएको उनले बताए।

ADVERTISEMENT

महाधिवेशनपछि कांग्रेसले देशभर पुगेर नागरिकसँग टुटेको विश्वास पुनःस्थापित गर्ने अभियान सञ्चालन गर्ने पनि थापाले बताए। पार्टीभित्र प्रतिस्पर्धा भए पनि सबै पक्षलाई समेटेर अघि बढ्ने उनको भनाइ छ।