काठमाडौं । नेपालले जलवायु परिवर्तनका कारण रसुवामा आएको विनाशकारी बाढीबाट भएको क्षतिका लागि ३ अर्ब रुपैयाँभन्दा बढी क्षतिपूर्ति माग गरेको छ।
नेपालले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचनाअन्तर्गतको हानि तथा नोक्सानी कोषसँग तत्काल २ करोड अमेरिकी डलर अर्थात् ३ अर्ब रुपैयाँभन्दा बढी रकम माग गरेको हो।
नेपालले गत साता उक्त कोषलाई औपचारिक पत्र पठाएको जनाएको छ। पत्रमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले हस्ताक्षर गरेका छन्।
परराष्ट्रमन्त्री शिशिर खनालले पत्रकार सुधीर शर्मासँगको अन्तर्वार्तामा नेपालले प्रारम्भिक रूपमा २ करोड अमेरिकी डलर दाबी गरेको बताएका छन्। उनका अनुसार विपद्पछिको विस्तृत क्षति मूल्यांकनपछि अन्तर्राष्ट्रिय समुदायसमक्ष थप दाबी प्रस्तुत गरिनेछ।
नेपालले जलवायु परिवर्तनमा न्यून योगदान गरे पनि यसको प्रभावबाट ठूलो क्षति व्यहोर्दै आएको भन्दै जलवायु विज्ञहरूले हानि तथा नोक्सानी कोषबाट सहयोग पाउनुपर्ने बताएका छन्।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति गरेको थियो। बाढीबाट भएको क्षतिको मूल्यांकनका आधारमा नेपालले अन्तर्राष्ट्रिय कोषबाट थप सहयोग प्राप्त गर्न पहल अघि बढाउने जनाएको छ।






