काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि २ करोड २२ लाख २२ हजार २ सय २१ रुपैयाँ सहयोग गरेको छ।
बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले अर्थ मन्त्रालय, सिंहदरबारमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य दिग्विजय विष्ट तथा प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको समेत उपस्थिति थियो।
बैंकले भोटेकोशी बाढीबाट ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। विपद्बाट प्रभावित नागरिकलाई राहत पुर्याउने उद्देश्यले सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको बैंकले जनाएको छ।
बाढीबाट सिटिजन्स बैंकको नुवाकोटस्थित देवीघाट शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। प्रभावित क्षेत्रमा तत्काल राहत पुर्याउन बैंकले देवीघाट, विदुर नगरपालिका–५ मा चामल, दाल, पिठो, बिस्कुट, तेल, नुन, सोयाबिन, आलुलगायत खाद्यान्न सामग्रीसमेत वितरण गरेको जनाएको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा तथा समुदाय केन्द्रित विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ। यसअघि पनि स्वास्थ्य शिविर सञ्चालन तथा सामुदायिक विद्यालय, वृद्धाश्रम र अनाथालयलाई आर्थिक सहयोग गर्दै आएको बैंकको भनाइ छ।
सिटिजन्स बैंकले देशभर ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत करिब २० लाख ६० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।






