सुर्खेत । कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, पुनःस्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि २ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारसँगै पुनःस्थापना, पुनर्निर्माण र विपद् व्यवस्थापनका लागि उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
बैठकले विपद्मा परेका नागरिकलाई सहयोग गर्न प्रदेश सरकारका तर्फबाट आर्थिक योगदान गर्ने निर्णय गरेको हो। यसअघि पनि कर्णाली प्रदेश सरकारले भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा सहयोगका लागि सार्वजनिक अपिल गरेको थियो।
यसैबीच, मन्त्रिपरिषद् बैठकले कर्णालीको शिक्षा क्षेत्रको दीर्घकालीन सुधार र विकासलाई लक्षित गर्दै ‘शिक्षा क्षेत्र योजना २०८३–२०९२’ स्वीकृत गरेको छ। सामाजिक विकास मन्त्रालयले तयार गरेको उक्त योजनालाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको हो।
कर्णाली सरकारको पछिल्लो निर्णयसँगै प्रदेशले एकातर्फ अन्तरप्रदेशीय विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गर्ने र अर्कोतर्फ आगामी दशकका लागि शिक्षा क्षेत्रको दीर्घकालीन योजना अघि बढाउने भएको छ।






