काठमाडौँ । दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन तीनदिने औपचारिक भ्रमणका क्रममा शनिबार नेपाल आइपुगेका छन् । नेपाल भ्रमणका क्रममा विदेशमन्त्री चोले नेपाली समकक्षी शिशिर खनालसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

भेटवार्तामा गत अगस्ट २६ मा रसुवा जिल्लामा आएको भीषण बाढी तथा पहिरोपछि बेपत्ता भएका दक्षिण कोरियाली नागरिकको खोज तथा उद्धारका लागि नेपालले गरिरहेको प्रयासबारे छलफल हुने बताइएको छ।

ADVERTISEMENT

रसुवामा आएको बाढी तथा पहिरोमा जलविद्युत् आयोजना निर्माणस्थलमा कार्यरत दक्षिण कोरियाका नौ जना नागरिक बेपत्ता भएका थिए । बेपत्तामध्ये छ जना दोसान एनर्बिलिटी र तीन जना कोरिया साउथ–इस्ट पावर कम्पनीका कर्मचारी रहेको बताइएको छ ।

ADVERTISEMENT

भ्रमणका क्रममा विदेशमन्त्री चोले बेपत्ता दक्षिण कोरियाली नागरिकको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक सहयोग र समन्वयका लागि नेपाली पक्षसँग आग्रह गर्ने अपेक्षा गरिएको छ ।

विदेशमन्त्री चोले बेपत्ता नागरिकका परिवारसँग समेत भेट गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी, उनले बाढी तथा पहिरो प्रभावित क्षेत्रको पुनःस्थापना, राहत तथा उद्धारका प्रयास र नेपाल–दक्षिण कोरिया द्विपक्षीय सम्बन्धका विविध विषयमा नेपाली पक्षसँग छलफल गर्ने बताइएको छ ।

ADVERTISEMENT

चोको नेपाल भ्रमणलाई विपद्का समयमा दुई देशबीच सहयोग र समन्वय बढाउनुका साथै नेपाल–दक्षिण कोरिया सम्बन्धलाई थप सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ ।