चितवनको सौराहामा घुम्न आएका ३५ जनाभन्दा बढी विदेशी पर्यटकले नेपालीसँगै बडादशैं मनाएका छन्। विभिन्न होटलमा टीका र जमरा लगाउँदै उनीहरूले नेपाली कला, संस्कृति र परम्पराको प्रत्यक्ष अनुभव गरेका हुन्।

अमेरिका, फ्रान्स, जर्मनी, स्विट्जरल्यान्ड, नेदरल्यान्ड्सलगायत देशबाट आएका पर्यटकलाई सौराहाका होटलले टीका र जमरा लगाइदिएर दशैंको खुसी साटासाट गरेका थिए।

ADVERTISEMENT

होटल ग्रिन पार्ककी प्रबन्धक राधा श्रेष्ठ, होटल पार्क साइडकी सावित्रा परियार, राइनो लज एण्ड होटलका सञ्चालक रामकुमार अर्याल तथा होटल रोयल टुलिपका सेफ कुमार बोगटीले पर्यटकलाई टीका र जमरा लगाइदिँदै आशीर्वाद दिएका थिए।

ADVERTISEMENT

विदेशी भूमिमा नेपालीको प्रमुख चाड दशैं मनाउन पाउँदा पर्यटक उत्साहित देखिएका थिए। अमेरिकाबाट आएका डविटले नेपालीसँगै दशैं मनाउन पाउँदा खुसी लागेको बताए। उनले नेपाली नागरिक आत्मीय र मित्रवत् रहेको तथा नेपाल सुन्दर भएको प्रतिक्रिया दिए।

आयरल्यान्डबाट आएकी सेरिजेन्टले यसअघि नेपाल आएका साथीहरूबाट नेपाली परम्पराबारे सुनेको बताउँदै यसपटक आफैँ टीका र जमरा लगाएर दशैं मनाउन पाउँदा खुसी लागेको बताइन्। आयरल्यान्डकै फोरिभले विभिन्न देशका संस्कृति र परम्परा बुझ्न चाडपर्वका बेला यात्रा गर्ने गरेको बताए। अस्ट्रेलियाबाट आएकी जयाले पनि नेपाली संस्कृति नजिकबाट बुझ्न पाउँदा खुसी लागेको बताइन्।

होटल ग्रिन पार्ककी प्रबन्धक श्रेष्ठले विगत पाँच वर्षदेखि विदेशी पर्यटकसँग नेपाली संस्कृति र परम्परा साटासाट गर्दै आएको जानकारी दिइन्। दशैंका दिन पनि पर्यटकलाई सेवा दिन होटल खुला राखिएको उनले बताइन्।

होटल पार्क साइडका सञ्चालक शिरलाल परियारले विदेशी पर्यटकसँगै दशैं मनाउने परम्पराले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए। यस्ता गतिविधिले पर्यटकलाई नेपाली संस्कृति, परम्परा र चाडपर्वसँग नजिक बनाउने उनको भनाइ छ।

चितवनको सौराहामा पर्यटकीय याम सुरु भएसँगै विदेशी पर्यटकको आगमन बढ्न थालेको छ। चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तु, प्राकृतिक सुन्दरता र साहसिक पर्यटनसँगै नेपाली चाडपर्व तथा सांस्कृतिक परम्पराले पनि पर्यटकलाई आकर्षित गर्ने गरेको छ।

चितवन राष्ट्रिय निकुञ्जको तथ्यांकअनुसार सौराहा आउने पर्यटकमध्ये तेस्रो मुलुकका पर्यटकको हिस्सा करिब २५ प्रतिशत छ। नेपाली र विदेशीबीच हुने सांस्कृतिक आदानप्रदानले सौराहाको पर्यटनलाई थप आकर्षक बनाउन सहयोग पुग्ने पर्यटन व्यवसायीको विश्वास छ।