काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ६० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा कम्पनीका सञ्चालक शशाङ्क अग्रवाल तथा कम्पनी सचिव विनोद शर्मा पौडेलको समेत उपस्थिति रहेको थियो।
सो अवसरमा सन नेपाल लाइफले बाढी तथा विपद्का कारण ज्यान गुमाएका नागरिकका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। कम्पनीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ।
कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको उक्त सहयोगले विपद्बाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउन तथा पुनःस्थापनाका कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
पछिल्लो समय भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था र संघसंस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्दै आएका छन्।






