काठमाडौं । राष्ट्रिय सभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव पारित भएको छ ।
मंगलबार बसेको सभामा राष्ट्रिय सभामा सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विशेष प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मत रुपमा पारित गरेको हो ।
यही भदौ १० गते रसुवाको भोटेकोशीमा विनाशकारी बाढीका कारण ठूलो धनजनको क्षति भएको छ । उक्त बाढीमा परेर ज्यान गुमाएकाहरूप्रति राष्ट्रिय सभाले श्रद्धान्जली अर्पण गरेको छ । शोकसन्तप्त परिवारजन, आफन्त तथा सम्बन्धित राष्ट्र र समुदायप्रति गहिरो समवेदना व्यक्त गरिएको छ ।
विशेष प्रस्तावमार्फत राष्ट्रिय सभाले बाढी प्रभावितको उद्धार र राहतको विषयलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गरेको छ । घाइतेहरूको निशु:ल्क उपचार गराउन आग्रह गरिएको छ । वैज्ञानिक रुपमा शव व्यवस्थापन गर्न भनिएको छ ।
साथै भौतिक संरचनाको पुर्ननिर्माणका लागि तहगत सरकारहरूबीच समन्वय गर्न आग्रह गरिएको छ । स्थानीय समुदाय, नागरिक समाज, विकास साझेदार तथा अन्तराष्ट्रियलाई सहयोगका लागि अपिल गरिएको छ ।
विपद्को समयमा राष्ट्रिय एकता कायम गर्न र भविष्यमा आउन सक्ने यस्ता विपद्को पूर्वतयारीको काम अघि बढाउन आग्रह गरिएको छ ।
यस्तो आग्रहसहितको विशेष प्रस्ताव सभाध्यक्ष दाहालले सभामा पेस गरेका थिए । जसलाई सांसदहरूले सर्वसम्मतिले पारित गरेका हुन् ।






