काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण सम्पर्कविहीन भएका बैंक तथा वित्तीय संस्थाका थप चार जना कर्मचारी सम्पर्कमा आएका छन्। बुधबार साँझसम्म २६ जना कर्मचारी सम्पर्कविहीन रहेकामा बुधबार रातिसम्म थप चार जना सम्पर्कमा आएको जनाइएको छ।
नेपाल बैंकर्स संघले सम्पर्कविहीन कर्मचारीहरूको खोजी तथा अवस्थाबारे जानकारी लिन निरन्तर समन्वय गरिरहेको जनाएको छ। संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माका अनुसार कर्मचारीहरूको अवस्थाबारे थप विवरण संकलन गर्ने काम भइरहेको छ।
बाढीका कारण रसुवा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाका १८ वटा शाखा कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। टिमुरेमा रहेका नौवटा वाणिज्य बैंकका शाखा कार्यालय बाढीमा पूर्णरूपमा बगेका छन्।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरु प्रसाद पौडेलका अनुसार ज्योति विकास बैंकका चारवटा, लुम्बिनी विकास बैंकका दुईवटा, मुक्तिनाथ विकास बैंकको एउटा, सांग्रिला विकास बैंकको एउटा र आईसीएफसी फाइनान्सको एउटा शाखा पनि पूर्णरूपमा क्षतिग्रस्त भएका छन्।
बाढीका कारण शाखा कार्यालय, बैंकिङ संरचना तथा अन्य भौतिक सम्पत्तिमा ठूलो क्षति पुगेको छ। प्रभावित कर्मचारीहरूको खोजी तथा क्षतिको थप विवरण संकलन गर्ने कार्य जारी रहेको सम्बन्धित निकायले जनाएको छ।






