काठमाडौं । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी सम्पर्कविहीन भएकामध्ये हालसम्म ४ हजार २७० जनाको उद्धार गरिएको छ। अझै ४ हजार ५९९ जना बेपत्ता रहेको नेपाल प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार उद्धार गरिएकामध्ये ३ हजार ३ पुरुष, १ हजार २५४ महिला र पहिचान नखुलेका १३ जना छन्। अन्य सुरक्षा निकाय तथा विभिन्न पक्षको सहयोगमा समेत गरी १२ हजारभन्दा बढी बाढी प्रभावितको उद्धार भइसकेको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार उद्धार गरिएकामध्ये ३ हजार ४५३ जनालाई होल्डिङ सेन्टरमा राखिएको छ। नुवाकोटमा २ हजार ४६६, धादिङमा २६०, रसुवामा ३९८ र काठमाडौंमा ३२९ जना होल्डिङ सेन्टरमा रहेका छन्।

ADVERTISEMENT

१ हजार १० शव फेला

बाढीमा परी ज्यान गुमाएकामध्ये हालसम्म १ हजार १० जनाको शव फेला परेको प्रहरीले जनाएको छ। फेला परेका शवमा ३० बालक, ३५ बालिका, २०९ महिला, ३८५ पुरुष तथा ३५१ जना आंशिक अङ्गसहितका रहेका छन्।तीमध्ये ५८१ शव जमिनमा गाडेर व्यवस्थापन गरिएको छ। यसमा १२१ महिला, १९८ पुरुष र पहिचान नखुलेका २६२ शव छन्। त्यस्तै, ५६ शव मृतकका परिवार तथा आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ।

हजारौँ अझै सम्पर्कविहीन

प्रहरीका अनुसार बेपत्तामध्ये २ हजार ३१२ पुरुष र ३६८ महिला गरी २ हजार ९८० नेपाली छन्। विदेशी नागरिकतर्फ २५१ पुरुष र ३३० महिला गरी ५८१ जना बेपत्ता छन् भने फोनमार्फत विवरण टिपाइएका १ हजार ३२९ जना समेत बेपत्ताको सूचीमा छन्।

ADVERTISEMENT

प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार, शव व्यवस्थापन तथा विवरण संकलनको काम निरन्तर भइरहेको छ। भोटेकोशीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि सरकारी संयन्त्रले उद्धार, राहत वितरण तथा पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको प्रहरीले जनाएको छ।