काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीबाट बेपत्ता भएका व्यक्तिको यकिन तथ्यांक अझै निर्धारण गर्न नसकिएको जनाएको छ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सोमबार बिहान ९ बजेसम्म विभिन्न आधिकारिक निकायबाट प्राप्त विवरणअनुसार ४ हजार २०२ जना बेपत्ता छन्। तर खोज तथा उद्धार कार्य जारी रहेकाले यो संख्या घटबढ हुन सक्ने उनले बताइन्।

ADVERTISEMENT

बेपत्ताको विवरण संकलनका लागि स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय निकुञ्ज तथा विभिन्न हाइड्रोपावर आयोजनासँग समन्वय भइरहेको महतले जानकारी दिइन्।

ADVERTISEMENT

उनका अनुसार हाइड्रोपावरका सुरुङबाट मात्रै हालसम्म २८९ जनाको उद्धार गरिएको छ। आइतबार चिनियाँ १५ र भारतीय ७ गरी थप २२ जनाको हाइड्रो क्षेत्रबाट उद्धार गरिएको थियो। सोमबार पनि खोज तथा उद्धार कार्य जारी रहेको उनले बताइन्।

प्राधिकरणका अनुसार हालसम्म रसुवा बाढीमा ९०३ जनाको मृत्यु भएको छ भने १० हजारभन्दा बढीको उद्धार गरिएको छ। त्यस्तै, घाइते भएर उपचारपछि २६७ जना घर फर्किएका छन्।

सम्पर्कविहीन व्यक्तिको खोजीका लागि २० हजार ८१९ सुरक्षाकर्मी परिचालन गरिएको छ।

बाढीका कारण अवरुद्ध सडक तथा सञ्चार सेवा अधिकांश क्षेत्रमा सञ्चालनमा आइसकेको प्राधिकरणले जनाएको छ। वैकल्पिक मार्ग पहिचान गरी सडक आवागमन सहज बनाउने काम भइरहेको महतले बताइन्।

विपद् व्यवस्थापनका लागि प्राधिकरणले करिब १४ वटा छुट्टाछुट्टै कार्यदल गठन गरी उद्धार, राहत, हेलिकोप्टर व्यवस्थापन, शव व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सहायता र समन्वयलगायतका काममा परिचालन गरेको छ।