सिरहा, भदौ १० — रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सिरहाका ६ जना अझै परिवारको सम्पर्कमा आउन सकेका छैनन्। उनीहरू रसुवा र आसपासका जलविद्युत् आयोजनामा कार्यरत रहेको परिवारजनले बताएका छन्।

सम्पर्कविहीन हुनेमा गोलबजार नगरपालिका–७ का ३२ वर्षीय राजकुमार यादव, कल्याणपुर नगरपालिका–११ का रोशन साह, सुखीपुरका आनन्दकुमार सिंह, कल्याणपुर–११ का श्यामसुन्दर साह ‘जिज्ञासु’, लहान नगरपालिका–१५ का मुकेशकुमार चौधरी र सखुवानन्कारकटि–१ मौवाहीका सकलदेव यादव ‘मुन्ना’ रहेका छन्।

परिवारजनका अनुसार राजकुमार यादव रसुवास्थित १११ मेगावाटको जलविद्युत् आयोजनामा दुई वर्षदेखि इन्जिनियरका रूपमा कार्यरत थिए। रोशन साह र श्यामसुन्दर साह पनि रसुवास्थित जलविद्युत् आयोजनामा इन्जिनियरका रूपमा कार्यरत रहेको बताइएको छ।

ADVERTISEMENT

त्यस्तै, आनन्दकुमार सिंह जलविद्युत् आयोजनामा सिभिल इन्जिनियरका रूपमा कार्यरत रहेको तथा मुकेशकुमार चौधरी र सकलदेव यादव त्रिशूली–३ ‘डी’ आयोजनाअन्तर्गत काम गरिरहेको परिवारजनले बताएका छन्।

ADVERTISEMENT

सम्पर्कविहीन भएका छ जनाको खोजीका लागि परिवारजनले सम्बन्धित विभिन्न निकायसँग आग्रह गरिरहेका छन्। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले उनीहरूको अवस्थाबारे थप विवरण प्राप्त हुन बाँकी छ।

ADVERTISEMENT

राहतका लागि सिरहाका दुई नगरपालिकाले १६ लाख दिने

भोटेकोशी बाढीबाट उत्पन्न विपद्को घडीमा राहत तथा उद्धारका लागि सिरहाका लहान नगरपालिका र सिरहा नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १६ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेका छन्।

लहान नगरपालिकाले जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मीलगायत कर्मचारीको एक दिनको तलब कट्टा गरी ११ लाख रुपैयाँ कोषमा जम्मा गर्ने नगर प्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए।

त्यसैगरी, सिरहा नगरपालिकाले ५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने नगर प्रमुख डा. नवीन यादवले जानकारी दिए।