काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले रसुवा बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङमार्गमा फसेका मजदुर, कर्मचारी तथा स्थानीयको उद्धारका लागि खटिएको टोली शनिबार साँझसम्म टनेलसम्म पुग्ने प्रयासमा रहेको बताएका छन्।

सुरुङभित्र फसेकाहरूका परिवारसँग शनिबार मन्त्रालयमा भेट गर्दै मन्त्री श्रेष्ठले ‘आज साँझसम्म टनेल भेट्न सक्ने सम्भावना रहेको’ बताए।

उनका अनुसार फसेकाहरूको खोज तथा उद्धारका लागि शुक्रबारदेखि डेडिकेटेड हेलिकप्टर परिचालन गरिएको छ। सुरुङको मुहान खोल्न तथा खोज तथा उद्धारको काम रातिसमेत निरन्तर भइरहेको उनले जानकारी दिए।

ADVERTISEMENT

‘राति पनि काम रोकेका छैनौँ। राति रोक्यो भने आसै मर्छ,’ मन्त्री श्रेष्ठले भने, ‘बरु हाफ सिफ्ट गरेर हुन्छ कि पालो फेरेर हुन्छ कि निरन्तरता दिने काम हामी गरिरहेका छौँ।’

ADVERTISEMENT

खोज तथा उद्धारका लागि नेपाल विद्युत् प्राधिकरण र ऊर्जा मन्त्रालयबाट उच्च तहका विज्ञ तथा अधिकारीहरू परिचालन गरिएको उनले बताए। उनका अनुसार नुवाकोटमा सिनियर तहको व्यवस्थापन टोली तथा रसुवामा अर्को टोली परिचालन गरिएको छ।

ADVERTISEMENT

मन्त्री श्रेष्ठले उद्धारका लागि आवश्यक स्रोतसाधन तथा समन्वयमा मन्त्रालय प्रतिबद्ध रहेको बताए। सुरुङभित्र फसेकाहरूको ज्यान जोगाउनु सरकारको पहिलो प्राथमिकता रहेको भन्दै उद्धारअघि नै कुनै माध्यमबाट अक्सिजन पुर्‍याउने प्रयास भइरहेको उनको भनाइ छ।

‘उद्धार हुनुअघि कुनै माध्यमबाट अक्सिजन टनेलभित्र पुर्‍याउन प्रयासरत छौँ। कुनै पाइपबाट अक्सिजन पुर्‍याउन सकिन्छ कि भनेर लागेका छौँ,’ उनले भने।

मन्त्रालयले पीडित परिवारलाई खोज तथा उद्धारको अवस्थाबारे नियमित रूपमा आधिकारिक सूचना उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएको छ।

मन्त्रीसँगको भेटमा पीडित परिवारका सदस्यहरूले सुरुङभित्र फसेकाहरू जीवित छन् वा छैनन् भन्ने अवस्थाबारे तत्काल जानकारी दिनुपर्ने माग गरेका थिए। उनीहरूले सुरुङभित्र बाँच्न आवश्यक व्यवस्था, विशेषगरी अक्सिजनको व्यवस्था गर्न तथा उद्धारका लागि आवश्यक उपकरण तत्काल उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन्।

रसुवामा आएको बाढीका कारण करिब एक दर्जन जलविद्युत् आयोजनामा क्षति पुगेको छ। विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र पाँच सयभन्दा बढी मजदुर, कर्मचारी तथा स्थानीय फसेको बताइएको छ।