काठमाडौँ । देशका विभिन्न भूभागमा शनिबार बिहानैदेखि वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो एक घण्टामा सिन्धुपाल्चोकको दुवाचौर मौसम मापन केन्द्रमा १९.६ मिलिमिटर वर्षा मापन भएको छ, जुन उक्त अवधिमा देशभरकै सबैभन्दा धेरै हो।
विभागले शनिबार बिहान ४ः४० बजे सार्वजनिक गरेको मौसमसम्बन्धी पछिल्लो विवरण अनुसार हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षा भइरहेका क्षेत्र तथा आसपासका भूभागमा थप वर्षा हुने सम्भावना रहेको छ। विशेषगरी बिहानैदेखि पानी परिरहेका क्षेत्रमा मौसम थप सक्रिय हुन सक्ने भएकाले स्थानीय अवस्था हेरेर सावधानी अपनाउन आग्रह गरिएको छ।
वर्षाका कारण सडक तथा यातायातमा असर पर्न सक्ने, पहाडी क्षेत्रमा पहिरोको जोखिम बढ्न सक्ने तथा खोला–नालामा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
त्यस्तै, निरन्तर वर्षा भइरहेका स्थानमा स्थानीय बासिन्दालाई मौसमको अवस्था र विभागबाट जारी हुने सूचनामा ध्यान दिन तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न सुझाव दिइएको छ।








