काठमाडौँ। देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

हाल कोशी र लुम्बिनी प्रदेशका सबै भू–भागमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रहेको छ। मधेस प्रदेशसहित बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा भने आंशिक बदली रहेको महाशाखाले जनाएको छ।

ADVERTISEMENT

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

ADVERTISEMENT

सोमबार देशभर साधारणतया बदली रहने अनुमान गरिएको छ। हिमाली भू–भागका केही स्थानमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। यस्तै, पहाडी तथा तराई भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका साथै कर्णाली प्रदेशका पहाडी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

ADVERTISEMENT

वर्षाका कारण ती क्षेत्रमा दैनिक जनजीवन, सडक तथा यातायातमा समेत प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।