काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण एनआईसी एशिया बैंकका रसुवास्थित तीन वटा शाखामा ठूलो क्षति पुगेको छ। बैंकका अनुसार स्याफ्रबेसी शाखा पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने बेत्रावती शाखा रहेको भवन पनि बाढी र लेदोमा डुबेको छ।

बाढीले शाखा रहेको घर नै बगाएपछि स्याफ्रबेसी शाखाका कार्यालय सामग्रीसहित एटीएमसमेत क्षतिग्रस्त भएको बैंकले जनाएको छ। शाखामा कार्यरत तीनै जना कर्मचारी भने सुरक्षित छन्। बाढी आउनुअघि खोलामा असामान्य हलचल देखिएपछि उनीहरू तत्काल अग्लो स्थानतर्फ गएकाले मानवीय क्षति हुनबाट जोगिएको बैंकको भनाइ छ।

त्यस्तै, बेत्रावतीस्थित शाखा रहेको भवन बाढी र लेदोमा पूर्णरूपमा डुबेको छ। भवनको माथिल्लो भाग मात्रै देखिने अवस्थामा रहेको बैंकले जनाएको छ। उक्त शाखामा कार्यरत कर्मचारी पनि सुरक्षित रहेको बताइएको छ।

ADVERTISEMENT

त्रिशूली शाखाका कर्मचारी पनि बाढीको जोखिम बढेपछि अग्लो स्थानमा गएकाले सुरक्षित छन्। यद्यपि, बाढीले शाखामा रहेको भल्टसमेत बगाएको हो वा अझै सुरक्षित अवस्थामा छ भन्ने यकिन हुन सकेको छैन। प्रभावित क्षेत्रमा पुग्न कठिन रहेकाले क्षतिको विस्तृत विवरण संकलन हुन बाँकी रहेको बैंकले जनाएको छ।

ADVERTISEMENT

बाढीका कारण शाखामा रहेका कागजात तथा अन्य भौतिक सामग्रीमा ठूलो क्षति पुगे पनि बैंकका डिजिटल अभिलेख भने सुरक्षित रहेको जनाएको छ।

ADVERTISEMENT

बैंकका अनुसार प्रभावित शाखाहरूमा दैनिक करिब ८० देखि ९० वटा टेलर कारोबार हुने गरेको थियो। दुर्गम क्षेत्रमा नगद ओसारपसार कठिन हुने भएकाले शाखाका भल्टमा औसतमा एकदेखि डेढ करोड रुपैयाँसम्म नगद राख्ने गरिएको बैंकले जनाएको छ। एटीएममा पनि आवश्यकताअनुसार नगद राखिने गरेको बताइएको छ।

बाढीबाट बैंकका संरचना, सामग्री, एटीएम तथा नगदमा भएको वास्तविक क्षतिको विस्तृत विवरण भने प्रभावित क्षेत्रमा पुगेर स्थलगत निरीक्षण गरेपछि मात्रै यकिन हुने बैंकले जनाएको छ।