काठमाडौं । नेपाल बैंकर्स संघले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा अवरोधका बीच पनि बैंकिङ सेवा निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
संघले बाढी तथा प्राकृतिक विपद्का कारण भएको मानवीय, जनधन तथा भौतिक संरचनाको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित सेवाग्राहीलाई आवश्यक सहयोग उपलब्ध गराउने जनाएको हो। बाढीमा ज्यान गुमाउनेहरूप्रति संघले श्रद्धाञ्जली व्यक्त गरेको छ।
संघका अनुसार बाढी प्रभावित जिल्लामा कार्यरत अधिकांश बैंक कर्मचारी सुरक्षित छन्। तर, हालसम्म २६ जना बैंक कर्मचारीसँग सम्पर्क स्थापित हुन सकेको छैन।
बाढी तथा डुबानका कारण केही बैंकका शाखासमेत प्रभावित भएका छन्। विद्युत्, इन्टरनेट तथा सञ्चार सेवामा आएको अवरोधले प्रभावित क्षेत्रमा नियमित बैंकिङ सेवा सञ्चालनमा चुनौती थपिएको संघले जनाएको छ।
यद्यपि बैंकहरूले उपलब्ध स्रोत, साधन तथा वैकल्पिक व्यवस्थाको अधिकतम उपयोग गर्दै सेवा निरन्तरता कायम गर्ने प्रयास गरिरहेको संघले जनाएको छ।
संघले विपद्को समयमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा सम्बन्धित सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गरिरहेको जनाएको छ। बैंकिङ क्षेत्र सरकारको राहत, उद्धार तथा पुनःस्थापनाको प्रयासमा पूर्णरूपमा साथ दिन प्रतिबद्ध रहेको संघको भनाइ छ।
प्रभावित कर्मचारी, उनीहरूका परिवार तथा आम नागरिकलाई आवश्यक सहयोग पुर्याउन बैंकिङ क्षेत्रले आफ्नो तर्फबाट सक्दो योगदान गर्ने संघले जनाएको छ।
सरकारसँगको सहकार्यमा राहत, उद्धार, बैंकिङ सेवा निरन्तरता तथा पुनःस्थापनाका लागि सदस्य बैंकहरूसँग समन्वय गरी आवश्यक सहयोग र सहजीकरण गर्न संघ तयार रहेको जनाएको छ।






