काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाढीपीडित नागरिकको उद्धार तथा राहतका लागि सरकारलाई ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्तिमार्फत विपद्को समयमा सरकारसँग हातेमालो गर्दै राहत कोषमा ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय भएको जानकारी दिएका हुन्।
पार्टीले जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा आवश्यक मानवीय सहयोग जुटाउन अपिलसमेत गरेको छ। राहत वितरणलाई पारदर्शी र प्रभावकारी बनाउन सरकारले एकद्वार प्रणाली अपनाउनुपर्ने रास्वपाको सुझाव छ।
विपद् व्यवस्थापन, उद्धार तथा राहत कार्यलाई प्राथमिकतामा राख्दै रास्वपाले आफ्ना पूर्वनिर्धारित सम्पूर्ण आधिकारिक, राजनीतिक तथा सांगठनिक गतिविधि अर्को सूचना नभएसम्म स्थगित गर्ने निर्णय गरेको जनाएको छ।
त्यस्तै, पार्टी पंक्तिलाई सक्रिय रूपमा परिचालन गरी उद्धार तथा राहत कार्यमा खटिन आग्रह गरिएको छ। राहत तथा उद्धार कार्यको संयोजनको जिम्मेवारी पूर्व र्याट संयोजक आशिष थापालाई दिइएको रास्वपाले जनाएको छ।






