काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष कुल आचार्य र बेलायतमा रहेका व्यवसायी तथा समाजसेवी उत्तम नेपालले नेपाल सरकारलाई दुई सेट डीएनए परीक्षण उपकरण हस्तान्तरण गरेका छन्।
सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा उनीहरूले डीएनए परीक्षण तथा नमुना प्रशोधनका लागि आवश्यक क्यूआइएजीइएन टिस्युलाइजर–३ प्रणालीका दुई पूर्ण सेट परराष्ट्रमन्त्री शिशिर खनाललाई हस्तान्तरण गरेका हुन्। उक्त उपकरण प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला वा खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामार्फत सञ्चालनमा ल्याउने तयारी छ।
कार्यक्रममा पूर्वअध्यक्ष आचार्यले गत अगस्ट २६ मा रसुवा, नुवाकोटलगायत जिल्लामा आएको विनाशकारी बाढीपछि विश्वभरका गैरआवासीय नेपालीले पीडितको सहयोगका लागि लाखौँ डलर सहयोग गरेको बताए। नेपालसम्म उपकरण ल्याउन विभिन्न प्राविधिक तथा कानुनी समस्या झेल्नुपरेको उल्लेख गर्दै उनले संकटका बेला मातृभूमिलाई सहयोग गर्नु आफ्नो कर्तव्य भएको बताए।
आचार्यले डीएनए किटको आवश्यकता पहिचान गरी सम्बन्धित निकायसँग समन्वय गरिदिएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणालाई धन्यवाद दिए।
बेलायतस्थित युमी इन्टरनेशनल लिमिटेडका निर्देशक उत्तम नेपालले कठिन परिस्थितिमा सरकारलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे। उनले आफ्नो परिवारका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँसमेत सहयोग गरेका छन्।
परराष्ट्रमन्त्री शिशिर खनालले ठूलो मानवीय क्षतिपछि मृतकको शव पहिचानमा देखिएको कठिनाइ समाधान गर्न अत्याधुनिक डीएनए परीक्षण उपकरण उपयोगी हुने बताए। उनले भोटेकोशी–त्रिशूली विपत्तिपछि गैरआवासीय नेपाली समुदायले देखाएको सद्भाव र सहयोगको प्रशंसा गरे।
मन्त्री खनालले जलवायु परिवर्तनका कारण नेपालजस्ता विकासोन्मुख मुलुकले भोगिरहेका चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायलाई सचेत गराउन गैरआवासीय नेपाली समुदायलाई आग्रह गरे। थप सहयोगका लागि आह्वान गर्दै उनले आवश्यक कानुनी तथा नीतिगत समस्या समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए।
कार्यक्रममा सांसद विदुषी राणाले विदेशमा रहेका नेपालीको परोपकारी योगदानको प्रशंसा गर्दै विपत्तिमा परेको नेपाललाई विश्वभरका नेपालीको सहयोग आवश्यक रहेको बताइन्। कार्यक्रममा सरकारी अधिकारी, सञ्चारकर्मी तथा सरोकारवालाको सहभागिता थियो।








