विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलले सोमबार बस्ने प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन र मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा विश्वासको मत दिन आफ्ना सांसदलाई ह्विप जारी गर्ने निर्णय गरेको छ।
प्रदेशसभा सचिवालयमा सोमबार बिहान बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको दलका सचेतक रमेशकुमार बस्नेतले जानकारी दिए।
मुख्यमन्त्री कार्कीले सोमबार दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा तेस्रो पटक विश्वासको मत लिन लागेका हुन्। एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच भएको तीनबुँदे सहमतिअनुसार गत सोमबार नयाँ मन्त्रीहरूले शपथ लिएका थिए। त्यसअघि नेपाली कांग्रेसले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएको थियो।
कांग्रेसले भदौ ३ गते नै मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गराइसकेको छ। यसअघि साउन ९ गते एमाले र नेकपाबीच प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति भएको थियो।
संविधानको धारा १६८ (५) अनुसार २०८१ वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले वैशाख ३१ गते पहिलो पटक विश्वासको मत लिएका थिए। त्यसबेला प्रदेशसभामा उपस्थित ६२ सांसदमध्ये ५७ जनाले उनको पक्षमा मतदान गरेका थिए भने पाँच जना तटस्थ बसेका थिए।
त्यस्तै, एमाले र तत्कालीन माओवादी केन्द्रबीचको गठबन्धन टुटेर कांग्रेससँग गठबन्धन बनेपछि कार्कीले २०८१ असोज २ गते दोस्रो पटक विश्वासको मत लिएका थिए। उक्त मतदानमा कार्कीको पक्षमा ६६ र विपक्षमा १५ मत परेको थियो। मतदानमा ८३ सांसद सहभागी भएका थिए।
९२ सदस्यीय कोशी प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, नेपाली कम्युनिस्ट पार्टीका १७, राप्रपाका पाँच र जनता समाजवादी पार्टीका एक सांसद छन्। राप्रपाका पाँच सांसदमध्ये सभामुख पनि छन्।






