काठमाडौँ — नेपाली खेलाडीद्वयले दक्षिण कोरियामा भएको ११ औं विश्व हाप्किडो च्याम्पियनसिप–२०२६ मा एक स्वर्ण र एक कांस्य पदक जितेका छन् ।
प्रतियोगिताको फाइट ग्योरोगी विधामा नेपालका दीपक छन्त्यालले स्वर्ण र मेग्मा गुरुङले कांस्य पदक जितेका हुन् । मेग्माले गत संस्करणमा रजत जितेकी थिइन् ।
दीपकले ८०–८४ केजी तौल समूहमा स्वर्ण पदक जित्दा तीन चरणमा सफलता पाए । पहिलो खेलमा जर्मन खेलाडीलाई हराएका उनले त्यसपछि सेमिफाइनलमा दक्षिण कोरियाका खेलाडीलाई पराजित गरेर फाइनल तय गरे । फाइनलमा दीपकले ब्राजिलका खेलाडीलाई पराजित गरी स्वर्ण जितेको नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगरले जनाएका छन् ।
अन्तर्राष्ट्रिय हाप्किडोमा पाएको दुवै खेलाडीको सफलता नेपाली खेलकुदकै महत्वपूर्ण उपलब्धि रहेको अध्यक्ष घर्तीको दाबी थियो ।





