सियोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण प्रणालीअन्तर्गत आइतबार पहिलोपटक आपतकालीन ‘हिटवेभ’ (अत्यधिक गर्मीको लहर) चेतावनी जारी गरेको छ । चेतावनीसँगै सर्वसाधारणलाई बाहिरी गतिविधि रोक्न र शरीरलाई शीतल राख्न आग्रह गरिएको छ ।
नयाँ प्रणालीअनुसार, कुनै क्षेत्रमा महसुस गरिने तापक्रम कम्तीमा ३८ डिग्री सेल्सियस वा वास्तविक तापक्रम कम्तीमा ३९ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान भएमा, एक दिनका लागि मात्र भए पनि आपतकालीन हिटवेभ चेतावनी जारी गर्न सकिने व्यवस्था गरिएको छ ।
अधिकारीका अनुसार, दक्षिण कोरियामा पछिल्ला वर्षमा अत्यधिक गर्मीको लहर लामो समयसम्म रहने र अझ तीव्र बन्दै गएकाले त्यसको प्रभावकारी व्यवस्थापनका लागि नयाँ चेतावनी प्रणाली लागू गरिएको हो ।
कोरिया मौसम विज्ञान प्रशासनकी प्रमुख ली मी–सोनले पत्रकार सम्मेलनमा आइतबार बिहान १० बजे दक्षिणी नर्थ ग्योङसाङ प्रान्तका ग्योङसान र पोहाङ सहरका लागि पहिलो पटक आपतकालीन हिटवेभ चेतावनी जारी गरिएको जानकारी दिए ।
उहाँका अनुसार, प्रभावित क्षेत्रमा सप्ताहन्तभर तापक्रमले आपतकालीन चेतावनी जारी गर्ने मापदण्ड पूरा गरेको थियो । ‘आपतकालीन हिटवेभ चेतावनीको अर्थ केवल मौसम अत्यधिक तातो हुनु मात्र होइन,’ लीले भने, ‘यसले स्वस्थ व्यक्तिलाई समेत गर्मीजन्य रोग वा मृत्युको उच्च जोखिम हुने अवस्था जनाउँछ ।’
लीले आपतकालीन चेतावनी जारी भएका क्षेत्रमा बाहिरी गतिविधि तुरुन्त रोक्न, शीतल स्थानमा बस्न तथा बालबालिका वा घरपालुवा जनावरलाई कुनै पनि अवस्थामा सवारी साधनभित्र एक्लै नछोड्न आग्रह गरे ।





