काठमाडौं । टिकटक र यसको चिनियाँ माउ कम्पनी बाइटडान्सले संयुक्त राज्य अमेरिकाको न्याय विभागसँग बालबालिकाको अनलाइन गोपनीयता उल्लङ्घनसम्बन्धी मुद्दा सल्टाउन ४० करोड अमेरिकी डलर तिर्ने सम्झौता गरेका छन्।
अमेरिकी सरकारले सन् २०२४ मा टिकटकले बालबालिकाको व्यक्तिगत डाटा गैरकानूनी रूपमा सङ्कलन गरेको र उनीहरूको गोपनीयता संरक्षण गर्न असफल भएको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो। सोही मुद्दा सल्टाउन टिकटक क्षतिपूर्ति तिर्न सहमत भएको हो।
सम्झौताअनुसार टिकटकले ३० करोड डलर तत्काल भुक्तानी गर्नेछ। बाँकी १० करोड डलर टिकटकको पूर्ववर्ती एप ‘म्युजिकल डट एलवाई’सँग सम्बन्धित सन् २०१९ को पुरानो संघीय आदेश खारेज भएपछि भुक्तानी गरिनेछ। बालबालिकाको अनलाइन गोपनीयता संरक्षण कानुन (सीओपीपीए) अन्तर्गत यो हालसम्मकै ठूलो जरिवानामध्येको एक भएको बताइएको छ।
अमेरिकी अधिकारीहरूले टिकटकले १३ वर्षभन्दा कम उमेरका बालबालिकाका खाताबाट अभिभावकको अनुमति बिना नाम, इमेल तथा अन्य व्यक्तिगत विवरण सङ्कलन गरेको आरोप लगाएका थिए। त्यस्तै, उमेर गलत विवरण दिएर सञ्चालन गरिएका बालबालिकाका खातालाई प्रभावकारी रूपमा नियमन गर्न र अभिभावकका गुनासो सम्बोधन गर्न पनि कम्पनी असफल भएको दाबी गरिएको थियो।
मुद्दा दायर भएपछि टिकटकको स्वामित्व, व्यवस्थापन तथा गोपनीयता नीतिमा विभिन्न परिवर्तन भइसकेका छन्। कम्पनीले एपमा उमेर प्रमाणित गर्ने थप कडा प्रविधि जडान गर्नुका साथै हजारौँ बालबालिकाका खातासमेत बन्द गरिएको जनाएको छ।






