बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।
बुधबार बिहान पाल्पातर्फबाट सुरुङमार्ग प्रवेश गर्ने बिन्दुबाट करिब १०० मिटर उत्तरतर्फ सडक माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो।
पहिरो खस्न रोकिएपछि सडक खुलाउन डोजर परिचालन गरी पहिरो हटाउने काम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए। उनका अनुसार पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन एकदेखि दुई घण्टा लाग्न सक्नेछ।
सिद्धबाबा क्षेत्र पहिरोको उच्च जोखिममा रहेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।
राजमार्ग अवरुद्ध भएपछि पाल्पा–बुटवल सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ।










