काठमाडौं । सरकारले अनलाइन माध्यमबाट व्यापार–व्यवसाय सञ्चालन गरिरहेका सबै व्यवसायीलाई अनिवार्य रूपमा दर्ता तथा सूचीकृत हुन ताकेता गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वेबसाइट, मोबाइल एप, सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री गर्ने व्यवसायीलाई विभागको पोर्टलमा अनिवार्य सूचीकृत हुन निर्देशन दिएको हो ।

विभागले विद्युतीय व्यापार ऐन, २०८१ तथा विद्युतीय व्यापार निर्देशिका, २०८२ बमोजिम आवश्यक कानुनी प्रक्रिया पूरा गरेर मात्रै अनलाइन व्यापार सञ्चालन गर्न आग्रह गरेको छ । कानुनी प्रक्रिया पूरा नगरी कारोबार सञ्चालन गरे कारबाही गरिने विभागले चेतावनी दिएको छ ।

ADVERTISEMENT

पछिल्लो समय अनलाइन कारोबारका क्रममा उपभोक्ता ठगी तथा गुनासो बढ्दै गएपछि सरकारले डिजिटल व्यापारलाई थप पारदर्शी, व्यवस्थित र नियमनको दायरामा ल्याउन कडाइ थालेको हो ।

ADVERTISEMENT

विभागका अनुसार कम्प्युटर, मोबाइल वा अन्य विद्युतीय उपकरणमार्फत वेबसाइट, एप्लिकेसन, इन्टरनेट, इन्ट्रानेट, सामाजिक सञ्जाल तथा विभिन्न मार्केटप्लेसबाट वस्तु तथा सेवा बिक्री गर्ने सबै व्यवसायी सूचीकृत हुनुपर्नेछ ।

ADVERTISEMENT

विभागले अनलाइन व्यापारमा संलग्न व्यवसायीलाई विद्युतीय व्यापारसम्बन्धी प्रचलित कानुनअनुसार आवश्यक प्रक्रिया पूरा गरी कारोबारलाई वैधानिक बनाउन आग्रह गरेको छ ।