काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दुर्गम क्षेत्रका नागरिकले सामान्य औषधिसमेत नपाइरहेको अवस्थामा सरकार मन्त्रीहरूको सेवा–सुविधा र विलासितामा केन्द्रित भएको आरोप लगाएको छ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेस प्रमुख सचेतक वासना थापाले कर्णालीका नागरिकले राहत र उपचार नपाउने तर मन्त्री बिरामी पर्दा राज्यको ठूलो रकम खर्च गरेर हेलिकप्टरमार्फत काठमाडौं ल्याउने गरेको भन्दै सरकारको कार्यशैलीको आलोचना गरिन्।

उनले दुर्गमका नागरिकले सिटामोलसमेत नपाउने, सुत्केरीले समयमा अस्पताल पुग्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै मन्त्रीहरूका लागि भने लाखौँ रुपैयाँ खर्च भइरहेको बताइन्।

ADVERTISEMENT

थापाले प्रधानमन्त्रीले मन्त्रीलाई काठमाडौं ल्याउन ३० देखि ३५ लाख रुपैयाँसम्म खर्च गर्न सक्ने तर विपन्न नागरिकलाई ३ लाख रुपैयाँसम्मको राहत दिन नसक्ने अवस्था रहेको भन्दै प्रश्न उठाइन्। बिहान–बेलुकाको छाक टार्न कठिन नागरिकलाई राज्यले एउटा सिलिन्डर ग्याससमेत उपलब्ध गराउन नसकेको अवस्थामा सरकारको सुशासनको दाबी खोक्रो रहेको उनको टिप्पणी थियो।

ADVERTISEMENT

मन्त्री र सामान्य नागरिकको जीवनको मूल्य समान हुनुपर्नेमा जोड दिँदै उनले भनिन्, ‘मन्त्रीको जीवन जति मूल्यवान् छ, कर्णालीका नागरिकको जीवन पनि उत्तिकै मूल्यवान् छ।’ प्रधानमन्त्रीका लागि हेलिकप्टर पुग्ने तर बिरामी नागरिकका लागि अस्पताल पुग्न नसक्ने अवस्था अन्त्य हुनुपर्ने उनको भनाइ थियो।

ADVERTISEMENT

सरकारले एकातिर ठूला द्रुतमार्ग निर्माणको कुरा गर्ने र अर्कोतिर कर्णालीका नागरिकलाई औषधि तथा राहतसमेत उपलब्ध गराउन नसक्ने अवस्था विरोधाभासपूर्ण रहेको थापाले बताइन्। यस्तो कार्यशैलीबाट कर्णालीवासीले वास्तविक सुशासनको अनुभूति गर्न नसकेको उनको दाबी थियो।