काठमाडौं । प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले ७८ दिनदेखि गर्दै आएको विरोध सोमबारदेखि हटेको छ।
सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाहलाई प्रतिनिधिसभामा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन र प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन रुलिङ गरेपछि विपक्षी सांसदहरू विरोधबाट पछि हटेका हुन्।
सोमबारको बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरू विगतका बैठकमा झैँ उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख अर्यालले लामो समयदेखि प्रधानमन्त्री र प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै सांसदहरूले गरिरहेको विरोधप्रति आफ्नो ध्यानाकर्षण भएको बताए।
सभामुखले प्रतिनिधिसभा नियमावलीका नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई रुलिङ गरे। रुलिङपछि केहीबेर अलमलमा परेका विपक्षी सांसदहरूलाई सभामुखले ‘सरकार र प्रधानमन्त्रीको नाममा रुलिङ गरिसकेको’ भन्दै बस्न आग्रह गरे। त्यसपछि उनीहरू बसे।
विपक्षी दलहरूले गत जेठ १७ गतेदेखि प्रधानमन्त्री बालेन शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिमा जवाफ र तथ्य माग गर्दै सदनमा निरन्तर विरोध गर्दै आएका थिए। साथै, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुन नसकेको विषयमा समेत उनीहरूले सभामुख र सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए।
जेठ १७ गते प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री बालेनले लिपुलेकसम्बन्धी विषयमा भारत र चीनसँगै बेलायत सरकारसँग समेत कुराकानी गरेको बताएका थिए। उनले नेपालले पनि विभिन्न ठाउँमा भारतीय भूमि मिचेको विषय आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको बताएका थिए।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि विपक्षी दलहरूले तथ्य र स्पष्टीकरण माग गरेका थिए। तर प्रधानमन्त्री त्यसका लागि तयार नभएपछि जेठमा १४ दिन, असारमा ३२ दिन र साउनमा ३१ दिन गरी ७८ दिनसम्म प्रतिनिधिसभामा विपक्षीको विरोध जारी रह्यो।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन बैठकको पहिलो एक घण्टामा सञ्चालन गर्ने व्यवस्था छ। प्रधानमन्त्रीलाई उक्त कार्यक्रममा सहभागी हुन सभामुखले औपचारिक रूपमा रुलिङ गरेपछि विपक्षी सांसदहरूले सोमबार विरोधको कार्यक्रम रोकेका हुन्।





