काठमाडौं । प्रतिनिधिसभाको आकस्मिक समयमा चुनावसम्बन्धी विषय उठाएपछि सभामुख डोलप्रसाद अर्यालले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुलभ खरेललाई रोकेका छन्।

आकस्मिक समय मागेर बोल्दै सांसद खरेलले रास्वपाले स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै ‘क्यान्डिडेट क्लब’ सुरु गरेको विषय सदनमा उठाएका थिए। उनले उक्त पहलका लागि पार्टीलाई धन्यवादसमेत दिए।

त्यसपछि प्रदेशसभा र संघीय संसद्को निर्वाचनसँग सम्बन्धित विषय राख्न खोज्दा सभामुख अर्यालले उनलाई रोक्दै आकस्मिक समयमा उक्त विषय उठाउन नमिल्ने बताए।

ADVERTISEMENT

सभामुख अर्यालले भने, ‘माननीय सदस्यले आकस्मिक समय माग्नुभएको थियो। त्यसकारण माननीय सदस्यको यो विषय कहीँ पनि आकस्मिक देखिँदैन। त्यसकारण बसौँ माननीय सदस्य।’ त्यसपछि सांसद खरेल आफ्नो सिटमा बसे।

ADVERTISEMENT

प्रतिनिधिसभा नियमावलीको नियम १५ मा आकस्मिक, शून्य र विशेष समयसम्बन्धी व्यवस्था गरिएको छ। नियमअनुसार अघिल्लो बैठक र सुरु हुन लागेको बैठकबीचको अवधिमा भएको गम्भीर प्रकृतिको घटना वा विषयमा सरकारको ध्यानाकर्षण गराउन सदस्यले समय मागेमा सभामुखले आकस्मिक समय उपलब्ध गराउन सक्ने व्यवस्था छ।

ADVERTISEMENT

आकस्मिक, शून्य र विशेष समयमा उठाइएका विषयमा सम्बन्धित मन्त्रीले सात दिनभित्र सदनमा जवाफ दिनुपर्ने व्यवस्था पनि छ।

सांसद खरेलले उठाएको चुनावसम्बन्धी विषय तत्कालको गम्भीर वा आकस्मिक घटनासँग सम्बन्धित नभएको भन्दै सभामुख अर्यालले उनलाई रोकेका हुन्।