काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि ल्याइएका एक बिरामीको आकस्मिक कक्षबाहिर एम्बुलेन्समै मृत्यु भएको छ।
मोरङका ४५ वर्षीय डोलबहादुर थापाको शुक्रबार अस्पतालको आकस्मिक कक्षबाहिर एम्बुलेन्समै मृत्यु भएको हो।
अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार थापा नियमित डायलिसिस गराइरहेका बिरामी थिए। स्ट्रोकको समस्या देखिएपछि उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल ल्याइएको थियो।
अस्पतालका अनुसार थापाका आफन्त आकस्मिक कक्षको ‘रेड एरिया’सम्म पुगेका थिए। तर, त्यतिबेला आकस्मिक कक्षमा बेड खाली नभएकाले बेड व्यवस्थापनका लागि केही समय दिन चिकित्सकले आग्रह गरेका थिए।
तर, आफन्तले बिरामीलाई अर्को अस्पताल लैजाने बताएका थिए। त्यसपछि अस्पताल परिसरमै एम्बुलेन्समा रहेका थापाको मृत्यु भएको अस्पतालले जनाएको छ।





