काठमाडौँ । महाराजगञ्जस्थित शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ । अस्पतालले आगामी माघ १ गतेदेखि लागू हुनेगरी स्वास्थ्य बिमा कार्यक्रममार्फत दिइँदै आइएको उपचार सेवा बन्द गरेको हो ।

विसं २०७७ देखि नियमित रूपमा सञ्चालन गर्दै आएको स्वास्थ्य बिमा कार्यक्रममार्फत गरिने उपचार सेवा माघ १ गतेदेखि लागू हुनेगरी बन्द गरिएको अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले जानकारी दिए । उनले स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रममार्फत बिरामीको उपचार गरेबापतको भुक्तानी उपलब्ध नगराएपछि सेवा सञ्चालन गर्न नसकिएको बताए ।

आन्तरिक स्रोतबाट अस्पतालले सबै किसिमका दैनिक खर्च व्यहोर्नुपर्ने हुँदा मासिक दुई करोड नोक्सान हुने भएपछि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न नसकिएको सूचना अधिकारी रोस्याराको भनाइ छ ।

ADVERTISEMENT

‘स्वास्थ्य बिमाबाट उपचारमा आउने बिरामी सङ्ख्या तथा चाप दिनहुँ वृद्धि हुँदै गएको छ । यसबाट मासिक पाँच करोड हाराहारीको खर्च हुनेमा बिमा बोर्डबाट ५० प्रतिशत मात्र दाबी स्वीकृति गरी बाँकी अस्वीकृत गर्दै आएको छ । हालसम्म अस्पतालको बिमा दाबी रकम करिब ४० करोड भुक्तानी बाँकी छ’ अस्पतालले जारी सूचनामा उल्लेख छ ।

ADVERTISEMENT

अस्पतालमा आउने बिरामीको उपचार क्रममा बिमा बोर्डको र अस्पतालको दररेट शुल्क फरक भएको बताउँदै सूचना अधिकारी रोस्याराले अस्पताल प्रशासनले बारम्बार अस्पतालको रकमलाई अन्तिम मानिदिनु भनी दुई वर्षदेखि गरेको आग्रहको कुनै सुनवाइ नभएको उल्लेख गरे । सरकारले १६ संघीय अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागू गर्दै आएकाे थियाे ।