काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको आज (चैत ३०) पित्तथैलीको शल्यक्रिया हुँदै छ। उनी हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जमा उपचाररत छन्।

अस्पतालका सहायक प्रवक्ता कालीबहादुर रोस्याराका अनुसार आवश्यक सबै स्वास्थ्य परीक्षण रिपोर्टहरू प्राप्त भएपछि शल्यक्रिया प्रक्रिया अघि बढाइएको हो। उनका अनुसार ओलीलाई अपरेशन थिएटर (ओटी)मा लगिसकिएको छ।

ओलीको शल्यक्रिया डा. पल्लेस्वाँ जोशी लाखेको नेतृत्वमा चिकित्सक टोलीले गरिरहेको छ।

ADVERTISEMENT

यसअघि ओलीको पित्तथैलीमा समस्या देखिएको थियो। स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको हो। चिकित्सकका अनुसार उनको पित्तथैलीमा २२ एमएमको पत्थरी भेटिएको छ, जसका कारण शल्यक्रिया आवश्यक भएको हो।

ADVERTISEMENT

अस्पताल स्रोतका अनुसार शल्यक्रिया प्रक्रिया चलिरहेको छ र स्वास्थ्य अवस्थाबारे थप जानकारी शल्यक्रिया सम्पन्न भएपछि सार्वजनिक गरिनेछ।