काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महराजगञ्जको फरेन्सिक विभागमा २८ जनाको शव परीक्षण (पोस्टमार्टम) सकिएको छ । अस्पतालमा जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूको हाल शवपरीक्षण कार्य भइरहेको छ ।
हालसम्म ४६ शवपरीक्षणका लागि अस्पताल ल्याइएको फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीले जानकारी दिए । उनका अनुसार २३ शव आफन्तले बुझेर लगिसकेका छन् । सातजनाको शव चिन्न नसकिने अवस्थामा छ । जसका लागि डिएनए परीक्षण आवश्यक हुन्छ । शव चिन्न नसक्ने अवस्थामा भने दाँत परीक्षण, फिंगर प्रिन्टबाट शव परीक्षण गरिन्छ ।
‘शव गोली लागेको, जलेको र ब्लड इन्जुरी भएका छन् । पोस्टमार्टमका लागि पत्र आएकाको शव परीक्षण गरिरहेका छौँ,’ चौधरीले भने ।
नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले मृतकका आफन्त र घाइते भेट्न शिक्षण अस्पताल पुगेका थिए । अस्पतालमा हाल २२ जना उपचाररत छन् ।




